१६ आश्विन २०८३, शुक्रबार

प्रचण्डदेखि इन्दिरा रानासम्म १४ सांसदको लामो अनुपस्थिति स्वीकृत


ड्रागन मिडिया सम्वाददाता

प्रतिनिधिसभाले लगातार दश वा त्योभन्दा बढी बैठकमा अनुपस्थित भएका १४ सांसदको अनुपस्थितिसम्बन्धी सूचना सर्वसम्मतिले स्वीकृत गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको सूचना प्रतिनिधिसभा नियमावलीअनुसार स्वीकृत भएपछि ती सांसदको पद कायम रहने भएको छ।

संसद् सचिवालयका अनुसार अनुपस्थित हुनेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री तथा अन्य सांसद छन्। उनीहरू स्वास्थ्य उपचार, विदेश यात्रा, जिल्लाको भ्रमण, अन्तर्राष्ट्रिय कार्यक्रम, व्यक्तिगत तथा पारिवारिक कारणले बैठकमा उपस्थित हुन नसकेका हुन्।

नियमअनुसार लगातार दशभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुन सक्ने व्यवस्था छ। तर अनुपस्थितिको कारणसहितको सूचना सदनबाट स्वीकृत गराएपछि पद कायम रहन्छ।

अनुपस्थितिको अवधि र कारण यसप्रकार छन् :

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ — वैशाख ३० देखि असार १३ सम्मका २४ बैठकमा अस्पतालमा उपचाररत रहेकाले अनुपस्थित।

२. योगेश गौचन थकाली — असार ५ देखि भदौ ३ सम्मका २० बैठकमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकाले अनुपस्थित।

३. विदुषी राणा — भदौ ३० देखि असोज १६ सम्मका १५ बैठकमा विदेश यात्राका कारण अनुपस्थित।

४. भरतबहादुर खड्का — भदौ २९ देखि असोज १५ सम्मका १४ बैठकमा जिल्लाको भ्रमणमा रहेकाले अनुपस्थित।

५. मोहम्मद इश्तियाक राई — भदौ ३० देखि असोज १५ सम्मका १४ बैठकमा व्यक्तिगत कारणले अनुपस्थित।

६. हरिना देवी कामी — असोज १ देखि असोज १६ सम्मका १३ बैठकमा ससुराको काजकिरियाका कारण अनुपस्थित।

७. भूमिका लिम्बू सुब्बा — असोज ५ देखि असोज १६ सम्मका १२ बैठकमा छोरीको उपचारका कारण अनुपस्थित।

८. जनकराज गिरी — भदौ २५ देखि असोज १२ सम्मका १२ बैठकमा घरायसी कामका कारण अनुपस्थित।

९. एलिजा गुरुङ — जेठ २६ देखि असार १५ सम्मका ११ बैठकमा स्वास्थ्य उपचारका कारण अनुपस्थित।

१०. सृष्टि भट्टराई — असोज १ देखि असोज १४ सम्मका ११ बैठकमा परीक्षा दिनुपर्ने भएकाले अनुपस्थित।

११. खडक शाही — असोज ५ देखि असोज १५ सम्मका ११ बैठकमा जिल्लाको भ्रमणमा रहेकाले अनुपस्थित।

१२. ज्ञानेन्द्रसिंह महता — जेठ २५ देखि असार १० सम्मका दश बैठकमा जिल्लाको भ्रमणमा रहेकाले अनुपस्थित।

१३. इन्दिरा राना मगर — असोज ४ देखि असोज १४ सम्मका दश बैठकमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकाले अनुपस्थित।

१४. प्रकाशसिंह कार्की — असोज ५ देखि असोज १४ सम्मका दश बैठकमा जिल्लामा कार्यक्रम रहेकाले अनुपस्थित।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button