१७ आश्विन २०८३, शनिबार

पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

ड्रागन मिडिया सम्वाददाता

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर–३ का ३२ वर्षीय दीपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको छ। नाम र ठेगाना नखुलेका करिब ४० देखि ४२ वर्षका अर्का पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये बाजुराको स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा र नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर छ। थप उपचारका लागि बुढालाई चितवन मेडिकल कलेज र भगवानलाई नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेमा गोरखा–९ का हरिशरण थापा, अछामको मंगलसेन–६ का तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा–१ की आकृति थारू, राजापुर–९ का सञ्जय थारू, बाजुराको स्वामीकार्तिक–१ का प्रेम बम, ललितपुरको कोन्ज्योसोम–५ का अनोज खत्री, बर्दियाको बाँसगढी–७ का लालबहादुर कार्की र सल्यानको बागचौर–१ का अनिल बुढाथोकी छन्।

बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान ६:१५ बजे उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको थियो। घाइतेको अनुहार, टाउको, कम्मर, हात र खुट्टामा चोट लागेको तथा अधिकांश बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइते अनोज खत्री अछामस्थित श्री गोरखबक्स गणमा प्युठ पदमा कार्यरत रहेको र दशैँ बिदामा घर जाँदै गरेको खुलेको छ। बसमा सवार दुई जना भने सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button