१७ आश्विन २०८३, शनिबार

चिनियाँ पर्यटकको युरोप, दक्षिण अमेरिका र अस्ट्रेलियातर्फ आकर्षण बढ्यो, जापान शीर्ष दशबाट बाहिर

ड्रागन मिडिया समाचार कक्ष

चीनको राष्ट्रिय दिवसको साताव्यापी बिदामा युरोप, दक्षिण अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्ड जाने चिनियाँ पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढी बढेको छ। यात्रा सेवा प्रदायकका तथ्याङ्क उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार, यस अवधिमा जापान भने चिनियाँ पर्यटकका प्रमुख दश गन्तव्यको सूचीबाट बाहिरिएको छ।

सेप्टेम्बर २५ को मध्य–शरद् पर्व र अक्टोबर १ देखि शुरु भएको राष्ट्रिय दिवसको बिदाबीचका तीन कार्यदिनसमेत बिदा लिनेले १३ दिनसम्म यात्रा गर्न पाउने व्यवस्था बनेको थियो। अक्टोबर ७ सम्म चल्ने लामो बिदाले टाढाका गन्तव्य र एकै यात्रामा धेरै देश समेट्ने भ्रमणप्रति आकर्षण बढाएको यात्रा सेवा प्रदायकहरूले बताएका छन्।

यात्रा मञ्च छुनारका अनुसार राष्ट्रिय दिवस बिदाको पहिलो दिन दुई हजार किलोमिटरभन्दा लामो दूरीका उडानको टिकट बुकिङ अघिल्लो वर्षको सोही अवधिभन्दा ४० प्रतिशतभन्दा बढी बढेको थियो। आठ हजार किलोमिटरभन्दा लामो दूरीका उडानको टिकट बुकिङ पनि ३० प्रतिशतभन्दा बढी बढेको छ। सिङ्गापुर–मलेसिया र फ्रान्स–इटाली समेटिएका भ्रमणका होटल बुकिङ १.२ गुणाले बढेको छ।

थाइल्यान्ड, मलेसिया, भियतनाम र लाओसका लागि उडान बुकिङ करिब २० प्रतिशत बढेको छ भने बेलायत, जर्मनी र स्पेनका लागि करिब १५ प्रतिशत वृद्धि भएको छ। दक्षिणी गोलार्द्धमा वसन्त ऋतु शुरु भएकाले दक्षिण अफ्रिकाको केप टाउन जाने उडान बुकिङ अघिल्लो वर्षको तुलनामा ४.३ गुणा पुगेको छ। ब्राजिल, पोर्चुगल र चिलीतर्फका टिकट बुकिङ दोब्बर भएको द पेपरले जनाएको छ।

यात्रा सेवा प्रदायक टुनिउका अनुसार यस वर्षको बिदामा जापान चिनियाँ पर्यटकका प्रमुख दश विदेशी गन्तव्यमा परेन। टोंगछङ ट्राभलका तथ्याङ्कमा पनि बैंकक, क्वालालम्पुर र सियोल प्रमुख गन्तव्य देखिएका छन्; जापानको कुनै पनि शहर शीर्ष दशमा परेको छैन। चीन र जापानबीचको कूटनीतिक तनावसँगै जापानतर्फको यात्रा चिसिएको समाचारमा उल्लेख छ।

चीनको नागरिक उड्डयन प्रशासनले सेप्टेम्बर २५ देखि अक्टोबर ७ सम्म चिनियाँ वायुसेवाले ३ करोड ११ लाख ९० हजार यात्रु बोक्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ३.६ प्रतिशत बढी हो। सेप्टेम्बर २४ सम्म अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ २२.५ प्रतिशत बढेको प्रशासनले जनाएको छ।

यसैबीच, राष्ट्रिय दिवसको बिदामा चीन आउने विदेशी पर्यटकको सङ्ख्या र सांस्कृतिक गतिविधिमा सहभागिता पनि बढेको छ। पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हुजाउमा विदेशी पर्यटक कुल आगन्तुकको २५ प्रतिशतभन्दा बढी रहेको पर्यटन क्षेत्रले जनाएको छ। विशेषज्ञका अनुसार बहुदेशीय र बहुशहरी यात्रा तथा स्थानीय संस्कृति र मनोरञ्जनसँग जोडिएका अनुभवप्रतिको रुचिले चिनियाँ पर्यटकको भ्रमण शैली बदलिँदै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button