१७ आश्विन २०८३, शनिबार

अमेरिकाबाट ताइवान पुगे पहिलो दुई एफ–१६भी, चीनको रक्षा मन्त्रालयले हतियार खरिदको आलोचना गर्‍यो

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकाले ताइवानलाई उपलब्ध गराउने ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुईवटा शुक्रबार ताइवान पुगेका छन्। महिनौँको ढिलाइपछि ती विमान ताइवानको पूर्वी तटस्थित चिहाङ हवाई अड्डामा अवतरण गरेका हुन्।

सन् २०१९ मा अमेरिकाले करिब आठ अर्ब अमेरिकी डलरमा ६६ वटा विमान बिक्री गर्ने सम्झौता स्वीकृत गरेको थियो। सफ्टवेयरलगायतका समस्याले आपूर्ति ढिलाइ भएको बताइएको छ। विमान पुगेपछि ताइवानका राष्ट्रपति लाई चिङ–तेले अमेरिकी सहयोगप्रति धन्यवाद दिँदै यसलाई हवाई रक्षा क्षमता सुदृढ पार्ने महत्त्वपूर्ण घटना भनेका छन्। रक्षामन्त्री वेलिङ्टन कूले थप विमान चाँडै आउने बताए पनि समय खुलाएका छैनन्।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता च्याङ बिनले सेप्टेम्बर २४ मा विमान आपूर्तिबारे प्रतिक्रिया दिँदै ताइवानका प्रशासनले करदाताको मेहनतको कमाइ अनावश्यक हतियार खरिदमा खर्च गरिरहेको बताएका थिए। यस्तो खरिदले सुरक्षा दिन नसक्ने, बरु ताइवानको वित्तीय स्रोत खस्काउने र त्यहाँका जनतामाथि विपत्ति ल्याउने उनको भनाइ थियो। उक्त प्रतिक्रिया विमानहरू ताइवान पुग्नुअघि, ती हवाईमार्गबाट फर्किएको खबर आएपछि दिइएको थियो। शुक्रबार विमान अवतरणबारे चीनको विदेश मन्त्रालयले रोयटर्सको प्रतिक्रिया अनुरोधमा समाचार प्रकाशित हुँदासम्म जवाफ नदिएको सेतोपाटीले जनाएको छ।

एफ–१६भी ब्लक ७० अमेरिकी एफ–१६ ‘फाइटिङ फाल्कन’को नयाँ उत्पादन संस्करण हो। यसमा एपीजी–८३ एईएसए राडार, उन्नत ककपिट, सुधारिएको मिसन कम्प्युटर, सञ्चार तथा हतियार प्रणाली र जमिनसँग ठोक्किनबाट जोगाउने स्वचालित प्रणाली छन्। विमानको संरचनात्मक आयु १२ हजार उडान घण्टासम्म रहेको निर्माता लकहिड मार्टिनले जनाएको छ। यी उपकरणले ताइवानको निगरानी तथा हवाई प्रतिरक्षा क्षमता बढाउने अपेक्षा गरिएको छ।

नयाँ विमान पुगेपछि ताइवानसँग रहेका एफ–१६ लडाकु विमानको सङ्ख्या २०० भन्दा बढी हुनेछ। हवाई र गुआम हुँदै आएका विमान राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भेटवार्ता भएको करिब एक सातापछि ताइवान पुगेका हुन्। ट्रम्पले यसअघि ताइवानका लागि प्रस्तावित थप १४ अर्ब डलरको हतियार प्याकेज तत्काल अघि नबढाउने बताएका थिए। सन् २०२५ डिसेम्बरमा उनले ११ अर्ब डलरको हतियार प्याकेज स्वीकृत गरेका थिए।

चीनको अडान

चीनको एक-चीन सिद्धान्तअनुसार ताइवान चीनको अभिन्न भूभाग हो। अमेरिकाले ताइवानलाई हतियार बेच्नु अन्तर्राष्ट्रिय कानुन र चीन-अमेरिका तीन संयुक्त विज्ञप्तिको गम्भीर उल्लङ्घन हो, तथा चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि गम्भीर हस्तक्षेप हो। चीनको रक्षा मन्त्रालयले अमेरिकी हतियार बिक्रीको दृढतापूर्वक विरोध र आलोचना गर्दै आएको छ। चीन सरकार ताइवानलाई हतियार बेच्ने कुनै पनि बाह्य शक्तिको कार्यको दृढतापूर्वक विरोध गर्दछ र आफ्नो सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ। चीनको पुनर्मिलन इतिहासको अपरिहार्य प्रवृत्ति हो र कुनै पानी बाह्य शक्तिले यसलाई रोक्न सक्दैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button