१७ आश्विन २०८३, शनिबार

देउवा समूहमा युवा सहभागिता बढाउँदै, गगनको अधिवेशनमा सहभागीहरू पनि फर्कन थालेको महतको दाबी

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाले गराएको विशेष अधिवेशन प्रक्रियामा सहभागी भएका केही नेता–कार्यकर्ता आफ्नो समूहमा फर्कन थालेको दाबी गरेका छन्। देउवा पक्षले बढीभन्दा बढी युवालाई समेट्दै अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले देशभरका नेता–कार्यकर्ता आफूहरूको अधिवेशन प्रक्रियामा स्वतःस्फूर्त रूपमा जोडिइरहेको बताए। प्रतिकूल परिस्थितिका बाबजुद उनीहरू आफ्नै खर्चमा जिल्ला र वडा तहका भेला तथा गतिविधिमा सहभागी भइरहेको र कतिपय ठाउँमा अपेक्षाभन्दा बढी उपस्थिति रहेको उनको भनाइ थियो।

विशेष अधिवेशनमार्फत पार्टीलाई बिथोल्ने प्रयास भएको भन्दै त्यसको विरोधमा नेता–कार्यकर्ता उभिएको महतले बताए। स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सांसद र प्रदेश सांसदलाई पद जाने तथा आधिकारिकता गुम्ने भन्दै दबाब दिइएको उनको आरोप छ। दबाबका बाबजुद उनीहरू आफूहरू नै वास्तविक कांग्रेस भएको अडानमा रहेको उनले दाबी गरे।

विशेष अधिवेशनमा सहभागी भएका केही नेता–कार्यकर्ता पनि पछिल्लो समय आफ्नो समूहको वडा तहको अधिवेशन प्रक्रियामा जोडिएको महतले बताए। “हामीले त गलत गरेछौँ भन्दै” उनीहरू फर्कन थालेको उनको भनाइ थियो।

महतले आफ्नो समूह कांग्रेसका मूल आदर्श, बीपी विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा रहेको दाबी गरे। विशेष अधिवेशन पक्षधर नेतृत्व ती मान्यताबाट टाढिएको आरोप लगाउँदै उनले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।

न्यायालयबाट निर्णय आएपछि पार्टीलाई मूल सिद्धान्त र आदर्शमा आधारित बनाएर अघि बढाउने महतले बताए। शेरबहादुर देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै उनले देउवाले नै १५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button