विद्यार्थी संगठन नेपालको नाम, विचार र झण्डा अपरिवर्तनीय राख्ने निर्णय

ड्रागन मिडिया सम्वाददाता
विद्यार्थी संगठन नेपालले आफ्नो नाम, विचार, उद्देश्य, नारा र झण्डा अपरिवर्तनीय राख्ने निर्णय गरेको छ। २०८३ वैशाख १ गते बसेको केन्द्रीय समिति बैठकले ‘सम्पूर्ण प्रगतिशील तथा देशभक्त विद्यार्थी एक जुट होऔँ’ नारासहित संगठनको स्थायी नाम ‘विद्यार्थी संगठन नेपाल’ कायम गर्ने निर्णय गरेको हो।
संगठनका प्रशासनिक काम केन्द्रीय समितिदेखि इकाई समितिसम्म नेपाली भाषामा, नेपाली कागज प्रयोग गरी हस्तलिखित रूपमा गर्ने निर्णयसमेत बैठकले गरेको छ। संगठनले प्रकाशन ‘विद्यार्थी गतिविधि’ को पहिलो अङ्क सार्वजनिक गर्ने र ‘विद्यार्थी स्वयंसेवक नेपाल’ लाई आफ्नो अभिन्न अङ्गका रूपमा परिचालन गर्ने पनि जनाएको छ।

मौलिक तथा शैक्षिक अधिकार सुनिश्चित गर्न ‘विद्यार्थी काउन्सिल’ स्थापना गर्नुपर्ने मागसहित संघर्ष समिति गठन गरिएको संगठनले जनाएको छ। केन्द्रीय अध्यक्ष मुक्ति गैरेको नेतृत्वमा गठित समितिमा मनु शर्मा र दिपा शाही सदस्य छन्। समितिले यसअघि शिक्षा मन्त्रालयमा बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेखित माग कार्यान्वयनका लागि दबाब दिनेछ।
संगठनले अन्याय, शोषण, विभेद, छुवाछुत, हिंसा र दमनविरुद्ध संघर्ष गर्ने तथा नागरिकको अभिव्यक्ति र अधिकारको पक्षमा उभिने निर्णय गरेको छ। अध्यक्ष मुक्ति गैरेले घोषणा गरेको ‘अधिकार छात्रवृत्ति–२०८३’ लाई पूर्ण समर्थन गर्ने निर्णयसमेत बैठकले गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।





