१८ आश्विन २०८३, आईतवार

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको समितिमा सात सदस्य मनोनीत गरेको हो।

समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य छन्। पार्टीका सातै प्रदेशका सभापति समितिका पदेन सदस्य रहने प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले १३ वटा केन्द्रीय विभागका प्रमुख पनि मनोनयन गरेको छ। प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापनमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालनमा मोहनलाल आचार्य, सामाजिक न्याय तथा समता प्रवर्द्धनमा रिमा विश्वकर्मा र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशितामा रूबिना आचार्य मनोनीत भएका छन्।

सुशासन तथा राज्य व्यवस्थामा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणालीमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारीमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षामा महोत्तरीका दीपककुमार साह र आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकारमा शर्मिला खनाललाई जिम्मेवारी दिइएको छ।

विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा नवउद्यम विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदामा डा. धनञ्जय रेग्मी र वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी मनोनीत भएका छन्। अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वर कार्की ‘रोहन’ चयन भएका छन्। संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको छ।

मधेस प्रदेशको पार्टी सङ्गठनमा देखिएका समस्या समाधानका लागि सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो। प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाइएको र अध्ययनपछि उपयुक्त कदम चालिने पार्टीले जनाएको छ।

रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानमा केन्द्रीय सदस्य र सांसदहरू ७७ जिल्ला तथा ७५३ स्थानीय तहमा पुगжेर सर्वसाधारण, पार्टी सदस्य र सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गर्नेछन्। बैठकले सबै केन्द्रीय सदस्य र सांसदलाई अभियानमा अनिवार्य सहभागी हुन निर्देशन दिएको छ।

पार्टीले काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा नयाँ केन्द्रीय कार्यालय राख्न जग्गा वा घर खोज्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ। बैठकले विजयादशमी, दीपावली र छठ पर्वका अवसरमा शुभकामना पनि व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button