महँगी नियन्त्रणमा ट्रम्प सरकारप्रति असन्तुष्टि

ड्रागन मिडिया सम्वाददाता
अमेरिकामा खाद्यान्न, इन्धन र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारप्रति जनअसन्तुष्टि बढेको छ। एसोसिएटेड प्रेस–एनओआरसीको सर्वेक्षणमा जीवनयापन खर्च व्यवस्थापनमा सरकारको कामलाई १७ प्रतिशतले मात्र अनुमोदन गरेका छन्। समग्र अर्थतन्त्र व्यवस्थापनप्रति अनुमोदन जनाउनेको सङ्ख्या २६ प्रतिशत छ।
सर्वेक्षणमा सहभागी ६५ प्रतिशत अमेरिकीले महँगीका लागि बाह्य कारणभन्दा सरकारका नीतिलाई बढी जिम्मेवार ठहर्याएका छन्। करिब ७० प्रतिशतले जीवनयापन खर्च व्यवस्थापनमा ट्रम्पको काम आफूले अपेक्षा गरेभन्दा खराब भएको बताएका छन्। झन्डै आधाले खाद्यान्न र इन्धन किन्न सक्ने क्षमताबारे उच्च चिन्ता व्यक्त गरेका छन्।
ट्रम्पले चुनावी अभियानका क्रममा मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए। तर नयाँ आयात शुल्कसम्बन्धी उनको नीतिलाई ६४ प्रतिशतले अति भएको ठानेका छन्। दैनिक खर्च घटाउने वाचा पूरा नभएको भन्दै असन्तुष्टि रिपब्लिकन मतदातामाझ समेत देखिएको छ।
एसोसिएटेड प्रेस–एनओआरसीले सेप्टेम्बर २४ देखि २८ सम्म २ हजार १४० वयस्कमाझ सर्वेक्षण गरेको थियो। परिणामले महँगी नियन्त्रण र परिवारको क्रयशक्ति ट्रम्प सरकारको घरेलु कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रमुख आधार बनेको देखाउँछ।





