१८ आश्विन २०८३, आईतवार

युक्रेन यात्रा नगर्न विदेशी नागरिक र कूटनीतिक कर्मचारीलाई रुसी विदेश मन्त्रालयको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

रुसको विदेश मन्त्रालयले विदेशी नागरिक तथा कूटनीतिक नियोगका कर्मचारीलाई किएभमा नबस्न र युक्रेन यात्रा नगर्न पुनः आग्रह गरेको छ। मन्त्रालयले सैन्य तथा प्रशासनिक संरचनानजिक नजान युक्रेनी नागरिकलाई पनि सचेत गराएको छ।

अक्टोबर ३ मा जारी वक्तव्यमा मन्त्रालयले युक्रेनी सशस्त्र बलबाट रुसी सर्वसाधारण र पूर्वाधारलाई लक्षित “आतङ्कवादी आक्रमण” भइरहेको दाबी गर्दै त्यसको जवाफमा रुसी सेनाले किएभलगायत युक्रेनी शहरका सैन्य लक्ष्यमा निरन्तर आक्रमण गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार विदेशी नागरिकलाई किएभ छाड्न र युक्रेन भ्रमण नगर्न यसअघि पनि आग्रह गरिएको थियो। मे २५ मा जारी वक्तव्य र विदेशी साझेदारलाई पठाइएका कूटनीतिक नोटमार्फत चेतावनी दिइएको तथा मे २७ मा उपविदेशमन्त्री मिखाइल गालुजिनले कूटनीतिक नियोगका प्रतिनिधिसमक्ष यसबारे जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ।

अमेरिका, बेलायत, युरोपेली सङ्घका सदस्य राष्ट्र, नर्वे र स्विट्जरल्यान्डसहितका देशले आफ्ना नागरिकलाई युक्रेन यात्रा नगर्न पटकपटक सल्लाह दिएको मन्त्रालयको भनाइ छ। ती चेतावनीका बाबजुद किएभमा विदेशी दूतावास सञ्चालनमा रहेको र विदेशी अधिकारीहरू युक्रेन जाने क्रम जारी रहेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।

रुसी विदेश मन्त्रालयले रुसी सेनाले ठूलो स्तरका प्रत्युत्तरात्मक आक्रमण जारी राख्ने जनाएको छ। चेतावनी बेवास्ता गरी युक्रेनमा रहने वा यात्रा गर्ने व्यक्तिले सम्भावित परिणामको जिम्मेवारी आफैँ लिनुपर्ने मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button