१८ आश्विन २०८३, आईतवार

युक्रेनको तटस्थ र गैरआणविक हैसियत शान्ति सम्झौताको सर्त: मेदभेदेव

ड्रागन मिडिया समाचार कक्ष

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले युक्रेनमा दीर्घकालीन राजनीतिक समाधानका लागि देशलाई तटस्थ, गैरआणविक र स्वतन्त्र हैसियतमा राख्नुपर्ने बताएका छन्। युक्रेनले राष्ट्रवादी नीतिको मार्ग त्याग्नुपर्ने र रुसले आफ्नो भूभागमा समावेश गरेका चार क्षेत्रलाई मान्यता दिनुपर्ने उनको भनाइ छ।

इरानको सरकारी प्रसारण संस्था आइआरआइबीसँग शनिबार भएको अन्तर्वार्तामा मेदभेदेवले यी सर्त पूरा भए कूटनीतिक समाधानको आधार बन्न सक्ने बताए। अन्यथा रुसले सैन्य माध्यमबाट आफ्नो उद्देश्य हासिल गर्ने चेतावनी पनि उनले दिए।

युरोपले रुसलाई खतराका रूपमा हेर्नु रुसलाई शक्तिका रूपमा स्वीकार्नुपर्ने संकेत भएको मेदभेदेवले बताए। उनका अनुसार रुसले पश्चिमसँग शान्तिपूर्ण सहकार्य र सामान्य संवाद मात्र चाहेको छ। युरोपेली नेताहरूले कथित ‘रुसी खतरा’लाई जनमत प्रभावित गर्न, चुनावमा मत जुटाउन र सैन्य बजेट बढाउन प्रयोग गरिरहेको उनको आरोप थियो।

मेदभेदेवले रुसमाथि ३३ हजारभन्दा बढी प्रतिबन्ध लगाइएको दाबी गर्दै प्रतिबन्धको सामना गरчहेका रुस र इरानले वित्तीय क्षेत्रमा सहकार्यका उपाय खोज्नुपर्ने बताए। युरोपले नै रुससँगको आर्थिक सम्बन्ध तोडेको र त्यसको परिणाम भोगिरहेको पनि उनले टिप्पणी गरे।

मध्यपूर्वको सुरक्षा अवस्था “अत्यन्त कमजोर” रहेको बताउँदै मेदभेदेवले इरानको राजनीतिक व्यवस्था बलपूर्वक परिवर्तन गर्ने प्रयासले थप देशलाई आणविक हतियार प्राप्त गर्नेबारे सोच्न प्रेरित गरेको दाबी गरे। अमेरिकाको नीतिलाई उनले गैरजिम्मेवारपूर्ण भने। होर्मुज जलडमरूमध्यको भौगोलिक र अन्तर्राष्ट्रिय कानुनी अवस्थाका कारण सुरक्षा सुनिश्चित गर्न इरानको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

मध्यपूर्वको द्वन्द्वले एकध्रुवीय निर्णय प्रक्रिया र पश्चिमी देशले अघि सारेको ‘नियममा आधारित व्यवस्था’प्रति विश्वको असन्तुष्टि उजागर गरेको मेदभेदेवले बताए। विश्व व्यवस्था बहुध्रुवीयतातर्फ जानुपर्ने र निर्णयमा सबै देशको विचार समेटिनुपर्ने उनको धारणा थियो।

रुस र इरानबीचको सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको बताउँदै उनले दुवै देशले रक्षा क्षेत्रमा संयुक्त गतिविधि विकास गरिरहेको जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button