सम्झौताअनुसार काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

ड्रागन मिडिया सम्वाददाता
सडक निर्माण तथा स्तरोन्नतिको ठेक्का सम्झौताअनुसार काम नगरेका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। तोकिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक, कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकका निर्माण तथा स्तरोन्नति सम्झौता समयमै पूरा नभएपछि कम्पनीहरूलाई कारवाहीका लागि सिफारिस गरिएको थियो। ती सम्झौता आर्थिक वर्ष २०७५ देखि २०८० सम्म भएका थिए।
सूचनाअनुसार सुर्खेतको विनम्र निर्माण सेवालाई तीन वर्ष, वीरेन्द्रनगरको ध्रुव निर्माण सेवालाई दुई वर्ष र मुगुको छायानाथस्थित अविनाश निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। काठमाडौंको शङ्करमाली निर्माण सेवा र कालिकोटको मान शाही निर्माण सेवालाई तीन–तीन वर्ष तथा काठमाडौंको कश्यप निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
शङ्करमाली निर्माण सेवाले नाग्म–गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला–मनाङ–मुस्ताङ सडकको काम सम्झौताअनुसार पूरा नगरेको सडक डिभिजनले जनाएको छ। अन्य तीन कम्पनी कर्णाली राजमार्गको कालिकोट खण्डमा सडक निर्माण तथा स्तरोन्नतिको ठेक्का समयमै सम्पन्न नगरेको भन्दै कालोसूचीमा परेका हुन्।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार सार्वजनिक निकायको सिफारिसमा कार्यालयले कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।





