साफेलबर्गको दुई गोलमा पेरुमाथि क्यानडाको जित

ड्रागन मिडिया समाचार कक्ष
जेकब साफेलबर्गले पहिलो हाफमा दुई गोल गरेपछि क्यानडाले शनिबार घरेलु मैदानमा मैत्रीपूर्ण फुटबलमा पेरुलाई २–० ले हराएको छ।
मोन्ट्रियलस्थित सपुटो रङ्गशालामा १९औँ मिनेटमा लियाम मिलरको सेट पिस प्रहारमा साफेलबर्गले गोल गर्दै क्यानडालाई अग्रता दिलाए। त्यसको १६ मिनेटपछि मिलरले दायाँतर्फबाट तीव्र गतिमा अघि बढेर गरेको क्रसमा साफेलबर्गले हेडरमार्फत दोस्रो गोल गरे।
खेलमा पेरुले ४३ प्रतिशत बल नियन्त्रणमा राखे पनि लक्ष्यतर्फको प्रहार गर्न सकेन।
पेरुले अक्टोबर ६ मा मियामीमा कोलम्बियासँग मैत्रीपूर्ण खेल खेलेर फिफाको जारी अन्तर्राष्ट्रिय खेल अवधि पूरा गर्नेछ। सोही दिन क्यानडाले मिनेसोटाको सेन्ट पलमा अमेरिकासँग खेल्नेछ।





