परम्परागत तिब्बती रङ्गचूर्ण चित्रकलालाई आधुनिक रूप दिँदै कलाकार

ड्रागन मिडिया सम्वाददाता
तिब्बती परम्परागत चित्रकलालाई समकालीन सिर्जनशीलतासँग जोड्ने उद्देश्यले चीनको छङ्दुमा आधुनिक तिब्बती रङ्गचूर्ण कलाकृतिको प्रदर्शनी तथा सांस्कृतिक विमर्श कार्यक्रम आयोजना गरिएको छ। सन् २०२६ अगस्ट १८ मा भएको कार्यक्रममा तिब्बतका कलाकारहरूले परम्परागत कलालाई नयाँ अभिव्यक्ति र शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।


महासिद्ध खेद्रुप ग्याछोको नेतृत्वमा तिब्बत गेचन कला तथा संस्कृति कम्पनी लिमिटेडका कलाकारहरूले तयार पारेका कलाकृतिमा सुन, चाँदी र तामासहित फिरोजा, मूँगा तथा मोतीजस्ता बहुमूल्य पदार्थबाट बनाइएका रङ्गचूर्ण प्रयोग गरिएको छ। ती सामग्रीलाई पिँधेर तयार पारिएको चूर्णबाट कलाकारहरूले आफ्ना चित्र सिर्जना गर्छन्।


कलाकृतिमा बाह्य विश्व, जीवजन्तु र आन्तरिक जीवनसँग जोडिएका विविध विषय तथा कल्पनालाई चित्रका माध्यमबाट अभिव्यक्त गरिएको छ। कलाकारहरूले प्राकृतिक पदार्थबाट बनाइएका रङ्गको प्रयोग र परम्परागत चित्रण विधिलाई निरन्तरता दिँदै त्यसमा समयसापेक्ष विषयवस्तु तथा सिर्जनात्मक प्रयोग समेट्ने प्रयास गरेका छन्।

तिब्बती परम्परागत कला लामो सांस्कृतिक र आध्यात्मिक अभ्याससँग जोडिएको छ। आधुनिक जीवनका अनुभव र विचारलाई यस कलामा समेट्दै कलाकारहरूले परम्पराको मौलिकता जोगाउने र नयाँ पुस्तासम्म पुर्याउने बाटो खोजिरहेका छन्।
परम्परागत रङ्गचूर्ण चित्रकलामा नयाँ चेतना र समकालीन अभिव्यक्ति मिसाउने यही प्रयासलाई कलाकारहरूले ‘आधुनिक रङ्गचूर्ण चित्रकला’का रूपमा अघि बढाएका छन्। प्रदर्शनीसँगै आयोजित सांस्कृतिक विमर्शले तिब्बती कलाको परम्परा, यसको वर्तमान रूपान्तरण र भविष्यका सम्भावनाबारे विचार आदानप्रदान गर्ने अवसर दिएको छ।





