दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान र म्याद थपको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

ड्रागन मिडिया सम्वाददाता
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान र म्याद थपसम्बन्धी सक्कल फाइल अदालतमा पेस गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत सक्कल कागजात झिकाउन आदेश दिएको हो। फाइल इजलासमा देखाएपछि फिर्ता लैजाने गरी पेस गर्न आदेशमा भनिएको छ। अदालतले असोज २० गतेका लागि पेसी तोकेको छ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत परेको जाहेरी, त्यसमा भएको अनुसन्धान र जिल्ला अदालत काठमाडौंबाट भएको म्याद थपसम्बन्धी कागजात सर्वोच्चले मागेको हो।
साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखेको छ। उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले असोज १४ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यसअघि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले साइबर ब्युरोसहित विपक्षी निकायसँग लिखित जवाफ मागेको थियो।





