साउदीमा सैन्य बल तैनाथ गर्न मक्का रक्षा गठबन्धनको निर्णय

ड्रागन मिडिया सम्वाददाता
साउदी अरेबिया, पाकिस्तान र टर्कीले मक्का रक्षा गठबन्धनअन्तर्गतका संयुक्त रक्षा प्रतिबद्धता कार्यान्वयन अघि बढाउँदै सहमत सैन्य बल र क्षमता साउदी अरेबियामा शीघ्र तैनाथ गर्ने निर्णय गरेका छन्।
तीन देशका प्रतिनिधिले सोमबार रियादमा बसेको गठबन्धनको रणनीतिक–राजनीतिक तथा रक्षा समितिको आपत्कालीन बैठकमा साउदी अरेबियासमक्ष देखिएका सुरक्षा चुनौतीबारे छलफल गरेका थिए। बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार, सैन्य बल र क्षमता उपलब्ध गराउन आवश्यक कदम चालिनेछ र तैनाथी स्वीकृत व्यवस्था तथा सदस्य राष्ट्रका राष्ट्रिय कानुनअनुसार हुनेछ।
वक्तव्यमा साउदीका मक्का र मदिना क्षेत्रलाई लक्षित गर्ने प्रयास तथा देशका शहर, नागरिक पूर्वाधार र आर्थिक प्रतिष्ठानमाथि भइरहेका आक्रमणको निन्दा गरिएको छ। पाकिस्तान र टर्कीले साउदी सशस्त्र बलको सतर्कता र तयारीको प्रशंसा गर्दै साउदीको सुरक्षा र भौगोलिक अखण्डताप्रतिको समर्थन दोहोर्याएका छन्।
बैठकले पाकिस्तानका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल नौमान महमूदलाई गठबन्धनको पहिलो महासचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ। उनको कार्यकाल तीन वर्षको हुनेछ।
संयुक्त वक्तव्यमा प्रत्येक सदस्य राष्ट्रको सुरक्षा तीनै देशको सामूहिक सुरक्षाको अभिन्न अङ्ग भएको उल्लेख छ। सैन्य परिचालनको समयतालिका वा तैनाथ गरिने बलको सङ्ख्या भने सार्वजनिक गरिएको छैन।





