कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रले पार्टीको संशोधित विधान पारित गरेको छ। महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ।
विधानमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहने व्यवस्था छ। उपसभापतिमध्ये एक र महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुनेछन्। कोषाध्यक्ष केन्द्रीय सदस्यबाट चयन हुनेछन्। प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि विधानमा गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ र महिला खुलाबाट १५ जना रहनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना तथा उपत्यकाबाट एक महिलासहित दुई जना निर्वाचित हुनेछन्। दलित, जनजाति, खस आर्य, मधेसी, थारू, श्रमिक, पिछडिएको वर्ग, जनसम्पर्क समिति र पेशागत विज्ञका लागि पनि प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका समुदायबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन्। केन्द्रीय कार्यसमितिले थप ६६ जना मनोनयन गर्ने व्यवस्था छ।
विधान सोमबार पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षका प्रतिवेदन मंगलबारको बन्द सत्रमा पारित गरिनेछ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने भएकाले विधान पहिले नै पारित गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।





