स्वास्थ्य सेवा सुधारका १३ प्रतिबद्धतासहित देउखुरी घोषणापत्र जारी

ड्रागन मिडिया सम्वाददाता
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न भएपछि घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा स्थानीय जडीबुटीको संरक्षण र दिगो उपयोग गर्दै आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना तथा सञ्चालन गर्ने, कपिलवस्तु, बाँके र बर्दियालाई आरोग्य तथा स्वास्थ्य पर्यटनका गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता छ। कपिलवस्तु आयुर्वेद चिकित्सालयलाई पञ्चकर्म, योग, ध्यान तथा पुनर्स्थापना सेवासहितको विशिष्टीकृत केन्द्रका रूपमा विकास गरिनेछ।
प्रदेश मातहतका अस्पतालमा रहेका जैवचिकित्सकीय उपकरणको परीक्षण तथा लेखापरीक्षण गरिनेछ। लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकीय सेवाको परीक्षण तथा मूल्याङ्कन विस्तार गरिने र प्रदेशका अस्पताल तथा आयुर्वेद चिकित्सालयमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली स्थापना गरिने घोषणापत्रमा उल्लेख छ। स्थानीय तहका स्वास्थ्य संस्थामा पनि विद्युतीय स्वास्थ्य सूचना प्रणाली विस्तार गरिनेछ।
सुरक्षित मातृत्व, बालस्वास्थ्य र पोषण सुधार, नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको रोकथाम र उपचार, आधारभूत स्वास्थ्य सेवाको पहुँच तथा बिरामी प्रेषण प्रणाली व्यवस्थित गर्ने प्रतिबद्धता गरिएको छ। रुपन्देहीका पाँच स्थानीय तह र प्युठानमा परिवार स्वास्थ्य परिचयपत्र कार्यक्रम विस्तार गरिनेछ। थालसेमिया, सिकलसेल र हेमोफिलियाका वाहक तथा बिरामीको अभिलेख राख्न विद्युतीय प्रणाली स्थापना गरिनेछ।
स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा सुर्तीजन्य पदार्थ तथा अस्वस्थकर खानपान निषेध गर्ने र स्थानीय जडीबुटीबाट बनेको चियालाई प्रवर्द्धन गर्ने योजना छ। असुल गर्नुपर्ने र पेश्की बेरुजु शून्यमा झार्ने तथा नियमित गर्नुपर्ने बेरुजु ५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा थप सुधारका लागि कार्यसम्पादन प्रभावकारी बनाउन निर्देशन दिएका थिए।





