२० आश्विन २०८३, मंगलवार

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र

ड्रागन मिडिया सम्वाददाता

मनसुनजन्य बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत तीव्र पारिएको छ। असोज दोस्रो साताको वर्षापछि सडक ५० भन्दा बढी ठाउँमा अवरुद्ध भएको थियो। कालीगण्डकी नदीले १० ठाउँमा सडक कटान गरेको छ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरसम्म करिब १२ किलोमिटर सडक मर्मत भइरहेको छ। कुनौटामा नदीले करिब २५० मिटर सडक कटान गरेपछि पैदल आवागमनसमेत कठिन भएको थियो। सडक विभाग र निर्माण व्यवसायीका उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न खण्डमा काम भइरहेको छ।

कुनौटाभन्दा माथिको मर्मतस्थलमा इन्धन पुर्‍याउन नेपाली सेना र ड्रोनको सहयोग लिइएको छ। छ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र पार गराइएको शर्माले बताए। राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहअगाडिको सडक खुलाइएको छ भने रातोपानी, महभीर र भिरकाटे क्षेत्रमा पनि मर्मत तथा नयाँ मार्ग निर्माण भइरहेको छ।

सडक विभागले यसै साताभित्र अवरुद्ध सडक खुलाउने लक्ष्य राखेको छ। रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका जोड्ने सडक सञ्चालनमा ल्याउन प्राथमिकता दिइएको अधिकारीहरूले बताएका छन्। मुस्ताङको स्याउ बजार पठाउने, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा झार्ने र पर्यटकीय याम शुरु हुने समय नजिकिएकाले सडक शीघ्र सञ्चालन गर्न दबाब बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button