२० आश्विन २०८३, मंगलवार

चाडपर्व सुरक्षा व्यवस्थाका लागि खोटाङमा सातबुँदे प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता

दसैँ, तिहार र छठ पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन खोटाङमा सातबुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलामा राजनीतिक दल र सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयले गस्ती बढाउने, आपराधिक गतिविधि हुन सक्ने स्थानमा निगरानी गर्ने र सुरक्षा निकायबीच समन्वय प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। जिल्ला ट्राफिक प्रहरीले बजार तथा भीडभाड हुने क्षेत्रमा नियमित गस्ती, यात्रुमैत्री सूचना प्रवाह र चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरे–नगरेको जाँच गर्नेछ।

राजनीतिक दलले शान्ति र सुरक्षा कायम गर्न सहयोग गर्ने तथा आपराधिक घटनाबारे सुरक्षा निकाय र प्रशासनलाई आधिकारिक सूचना उपलब्ध गराउने जनाएका छन्। उद्योग वाणिज्य सङ्घले वस्तु तथा सेवाको गुणस्तर कायम गर्ने, पत्रकारले यातायात व्यवसायी, यात्रु र उपभोक्ताका अधिकार तथा कर्तव्यबारे सूचना प्रवाह गर्ने प्रतिबद्धता गरेका छन्।

होटल व्यवसायीले आधारभूत मापदण्ड पालना गर्दै उचित मूल्यमा खाना र बास उपलब्ध गराउने तथा यातायात व्यवसायीले सुरक्षित सेवा सञ्चालन गर्ने जनाएका छन्। चालक र सहचालकलाई यात्रुसँग मर्यादित व्यवहार गर्न प्रशिक्षण दिने, यात्रुलाई टिकट उपलब्ध गराउने, मादक पदार्थ सेवन नगर्ने र तोकिएको स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने प्रतिबद्धता पनि गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङको कार्यकक्षमा भएको भेलाले चाडपर्वका बेला शान्तिसुरक्षा कायम गर्न जिल्लाका दसवटै स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button