२० आश्विन २०८३, मंगलवार

बाढीपहिरोले बागलुङका सडकमा ५० करोडको क्षति, पुनर्निर्माणमा अर्बभन्दा बढी लाग्ने

ड्रागन मिडिया सम्वाददाता

बाढीपहिरोबाट बागलुङमा १३ जनाको ज्यान गएको छ भने राष्ट्रिय तथा प्रदेशस्तरीय सडक पूर्वाधारमा करिब ५० करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडक दीर्घकालीन रूपमा पुनर्निर्माण गर्न एक अर्ब रुपैयाँभन्दा बढी लाग्ने आकलन गरिएको छ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडकमा करिब ३० करोड रुपैयाँको क्षति भएको छ। मध्यपहाडी लोकमार्गको निसीखोलास्थित कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडक बगाएको छ। घोडाबाधेदेखि हटियासम्मका एक दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ।

कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाट क्षेत्रमा पनि क्षति पुगेको छ। बागलुङ बजारबाट सिगाना र तित्याङ जाने सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ।

पूर्वाधार विकास कार्यालयको प्रारम्भिक विवरणअनुसार प्रदेश सरकारअन्तर्गतका सडकमा करिब २० करोड रुपैयाँको क्षति भएको छ। कार्यालय प्रमुख अनुप थापाका अनुसार हरिचौर–ताराखोला सडकमा सबैभन्दा बढी क्षति पुगेको छ। आठ किलोमिटर सडकका एक दर्जन स्थानमा पहिरो गएको छ। शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट र कुश्मिसेरा–राङ्खानी सडक पनि क्षतिग्रस्त भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button