२० आश्विन २०८३, मंगलवार

दुई छोरा गुमाएर पनि आन्दोलनमा अडिग रहेका अशोक रोकाया ‘संकल्प’को निधन

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिस्ट पार्टीका निष्ठावान क्रान्तिकारी नेता अशोक रोकाया ‘संकल्प’को उपचारका क्रममा निधन भएको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना रहनुभएका रोकायाको आज मध्यराति १ बजे बहुअङ्ग विफलताका कारण निधन भएको हो। उहाँ लामो समयदेखि कलेजाे सम्बन्धि राेगले ग्रस्त हुनुहुन्थ्यो। जनताको पक्षमा निरन्तर लड्दै र विजयी हुँदै आएका संकल्प झण्डै दुई दशक बढी समय राेगसँगकाे लडाइँमा उहाँ पराजित हुनुभएको छ।

परिवर्तन र क्रान्तिको आन्दोलनमा जीवन समर्पित गर्नुभएका रोकायाले आन्दोलनकै क्रममा आफ्ना दुवै छोरा गुमाउनुभएको थियो। गहिरो पारिवारिक पीडा र अनेक कठिनाइबीच पनि उहाँ पार्टी र आन्दोलनप्रति निष्ठावान रहनुभयो। उहाँको जीवन त्याग, प्रतिबद्धता र संघर्षको उदाहरणका रूपमा स्मरणीय रहनेछ।

उपचारका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शक्ति बस्नेत, जनार्दन शर्मा, गोपाल शर्मा लगायतका नेता शिक्षण अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।

रोकायाकी श्रीमती, छोरी मञ्जु रोकाया ‘आशा’ र ज्वाइँ झकबहादुर मल्ल ‘सुदीप’ पार्टी काममा सक्रिय हुनुहुन्छ। सुदीप कामविशेषले चीन जानुभएकोमा ससुराको स्वास्थ्य गम्भीर बनेपछि यात्रा समय परिवर्तन गरी काठमाडौं फर्कँदै हुनुहुन्छ।

रोकायाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय पार्टी कार्यालयमा राखिनेछ। ज्वाइँ काठमाडौं आइपुगेपछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उहाँले पार्टी र परिवर्तनको आन्दोलनमा पुर्‍याउनुभएको योगदानप्रति विभिन्न माध्यमबाट सयौंले उच्च सम्मान व्यक्त गरेेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button