बिलबिजकबिनाका ६३ मोबाइल तथा उपकरणसहित दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
बिलबिजकबिना बिक्री तथा ओसारपसार भइरहेका ६३ थान मोबाइल तथा उपकरणसहित चितवनमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई असोज १८ गते पक्राउ गरिएको हो।
भरतपुर महानगरपालिका–१० हाकिमचोकस्थित दीपक मोबाइलका सञ्चालक ४१ वर्षीय दीपक प्रसाईंबाट विभिन्न सिरिजका ५० थान आइफोन, चार थान सामसुङ, दुई थान रेडमी, एक थान भिभो मोबाइल र एक थान आइप्याड गरी ५८ थान उपकरण बरामद गरिएको छ।
त्यस्तै, भरतपुर–१ रामनगरबाट २८ वर्षीय उमनन्द भुसाललाई बिलबिजकबिनाका पाँच थान सामसुङ मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना र बरामद उपकरणलाई आवश्यक कानुनी कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताए।





