२० आश्विन २०८३, मंगलवार

खुला सीमा बन्द होइन, प्रविधिमार्फत व्यवस्थित गर्न गौतमको सुझाव

ड्रागन मिडिया सम्वाददाता

सशस्त्र प्रहरी बलका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले नेपाल–भारत खुला सीमाबाट हुने अपराध नियन्त्रण गर्न सीमा बन्द गर्ने वा काँडेतार लगाउनेभन्दा प्रविधिमैत्री व्यवस्थापन र दुई देशबीचको समन्वय आवश्यक रहेको बताएका छन्। कान्तिपुरमा प्रकाशित विचारमा उनले सीमापार अपराध नियन्त्रणका लागि व्यावहारिक कार्ययोजना बनाउन दुवै देशलाई आग्रह गरेका छन्।

गौतमले तेस्रो देशका नागरिकको अवैध प्रवेश रोक्न नाकामा बायोमेट्रिक अभिलेख र कडा अध्यागमन प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन्। भारतीय परिचयपत्रको प्रमाणीकरणमा नेपाली अधिकारीलाई वास्तविक समयमै पहुँच दिने व्यवस्था भए सीमा व्यवस्थापन र अपराध अनुसन्धानमा सहयोग पुग्ने उनको भनाइ छ।

सीमा क्षेत्रमा ड्रोन, सीसीटीभी, तापीय क्यामेरा र भूउपग्रह प्रविधि प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले नेपालका सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीचको सहकार्यलाई अझ सघन बनाउनुपर्ने बताएका छन्। अपराधसम्बन्धी सूचना आदानप्रदान, संयुक्त सुरक्षा कार्यदल र नियमित समीक्षा प्रणाली पनि आवश्यक रहेको उनको सुझाव छ।

गृहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीबीचका बैठकलाई औपचारिकतामा सीमित नराखी कार्यदलमार्फत वर्षभरि काम गर्ने र प्रत्येक तीन महिनामा प्रगति समीक्षा गर्ने संयन्त्र बनाउन गौतमले प्रस्ताव गरेका छन्. उनका अनुसार आपसी सम्मान, सार्वभौमिकताको कदर र व्यावहारिक सहकार्यबाट खुला सीमालाई सुरक्षित, व्यवस्थित र मैत्रीपूर्ण बनाउन सकिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button