२० आश्विन २०८३, मंगलवार

रुस–युरोप प्रत्यक्ष सैन्य भिडन्त परमाणु द्वन्द्वमा परिणत हुन सक्ने राजदूत ताराब्रिनको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

नेदरल्यान्ड्सका लागि रुसी राजदूत वी. ताराब्रिनले युरोपेली मुलुकहरूको वर्तमान नीतिले रुससँग प्रत्यक्ष सैन्य भिडन्तको जोखिम बढाइरहेको बताएका छन्। त्यस्तो भिडन्त छिट्टै परमाणु द्वन्द्वमा परिणत भई विनाशकारी परिणाम निम्त्याउन सक्ने उनले नेदरल्यान्ड्सका ब्लगर आर. ब्राउवरसँगको अन्तर्वार्तामा बताएका हुन्। रुसको युरोपसँग युद्ध गर्ने इच्छा वा आक्रामक योजना नभएको उनको भनाइ छ।

ताराब्रिनले बढ्दो अन्तर्राष्ट्रिय तनाव र राजनीतिकरणका बाबजुद संयुक्त राष्ट्रसंघ विश्वका चुनौतीबारे छलफल र समाधान खोज्ने केही सार्वभौम मञ्चमध्ये एक रहेको बताए। विश्वका विभिन्न क्षेत्रलाई वस्तुनिष्ठ रूपमा प्रतिनिधित्व गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको ‘नक्सा सच्याऔँ’ प्रस्तावलाई रुसले समर्थन गरेको उनले उल्लेख गरे।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् सुधारमा विश्व बहुमतका देशको प्रतिनिधित्व विस्तार गर्नुपर्ने र भारत, ब्राजिल तथा अफ्रिकाका प्रतिनिधिलाई समावेश गर्नुपर्ने रुसको धारणा रहेको उनले बताए। तर पश्चिमी समूहको प्रतिनिधित्व परिषद्मा पहिल्यै असमान रूपमा बढी भएकाले जर्मनी र जापानलाई थप स्थायी हैसियत दिन रुसले विरोध गर्ने उनको भनाइ छ।

युक्रेनसम्बन्धी विशेष सैन्य कारवाहीका उद्देश्यबारे बोल्दै ताराब्रिनले युक्रेन रुसविरोधी सैन्य परियोजना बन्न छाड्नुपर्ने र रुस वा उसका छिमेकीका लागि सैन्य खतरा नबन्नुपर्ने बताए। युक्रेनको तटस्थ हैसियत, रुसी भाषा र संस्कृतिको अधिकार तथा रुसी अर्थोडक्स चर्चको अधिकार पुनःस्थापना गर्नु र जमिनमा कायम भइसकेको क्षेत्रीय वास्तविकता तथा डोनेट्स्क, लुगान्स्क, जापोरोज्ये र खेरसोनका बासिन्दाको इच्छालाई मान्यता दिनु पनि रुसका घोषित उद्देश्य भएको उनले बताए।

अमेरिकी प्रतिनिधिको मस्को भ्रमणले मध्यस्थ कूटनीतिका लागि उपयोगी बाटो खोलेको र साझा आधार खोज्न मद्दत गरेको ताराब्रिनको भनाइ छ। तर शान्ति समाधानको मुख्य अवरोध युरोपेली सङ्घ रहेको र उसले रुसलाई ‘रणनीतिक रूपमा पराजित’ गर्ने लक्ष्य नछाडेको उनले आरोप लगाए।

लाइप्जिगमा भएको ड्रोन घटनामा रुसी संलग्नताको आरोपलाई ताराब्रिनले अस्वीकार गरे। त्यसलाई पुष्टि गर्ने प्रमाण प्रस्तुत नगरिएको भन्दै उनले उक्त घटनालाई जर्मनीले रुसविरोधी थप कदम चाल्ने बहानाका रूपमा प्रयोग गरेको आरोप लगाए। नाटोका महासचिव मार्क रुट्टेअन्तर्गत गठबन्धनसँगको सम्बन्ध थप बिग्रिएको र रुसको सीमामा सैन्य गतिविधि बढ्नु अत्यन्त खतरनाक प्रवृत्ति भएको उनको टिप्पणी छ।

नेदरल्यान्ड्ससँगको द्विपक्षीय सम्बन्ध अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै ताराब्रिनले हेग रुसविरोधी समूहको अग्रपङ्क्तिमा उभिएको आरोप लगाए। सैन्य खर्च वृद्धिले सामाजिक कल्याण, स्वास्थ्य, शिक्षा र यातायातमा लगाउन सकिने ठूलो स्रोत हतियारमा खर्च भइरहेको र यसले रुससँगको तनाव थप बढाउने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button