सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

ड्रागन मिडिया सम्वाददाता
अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग नेपाल–चीनको जनस्तर र संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान र पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताए। उनले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्धका गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारे।
नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन चीनले पुर्याउँदै आएको सहयोगप्रति सभामुख अर्यालले धन्यवाद दिए। दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
हालै रसुवामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले बेपत्ता चिनियाँ नागरिकका परिवारप्रति समवेदना प्रकट गरे। विपद्का बेला चीन सरकारले उपलब्ध गराएको आपत्कालीन आर्थिक तथा मानवीय सहायता र खोज तथा उद्धार सहयोगका लागि पनि उनले धन्यवाद दिए। चीनले सुरुङ उद्धार तथा न्यायिक परीक्षण र डीएनए विशेषज्ञ टोलीसँगै ड्रोनलगायत उपकरण उपलब्ध गराएको थियो।
नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारी तथा संसदीय मैत्री समूहले दुई देशबीचको संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास सभामुख अर्यालले व्यक्त गरे।





