पश्चिमी क्रोएसियामा मालवाहक रेल दुर्घटना, ठूलो भौतिक क्षति

ड्रागन मिडिया समाचार कक्ष
अनाज बोकेको मालवाहक रेल शनिबार बिहान पश्चिमी क्रोएसियाको मेजा रेल स्टेसननजिकै पटरीबाट खस्दा ठूलो भौतिक क्षति भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको राष्ट्रिय प्रसारक क्रोएसियन रेडियो टेलिभिजनले जनाएको छ।
क्रोएसियाली रेल पूर्वाधार कम्पनीका अनुसार ट्रान्सएजेन्टले सञ्चालन गरेको रेल स्थानीय समयअनुसार बिहान ९ः२५ बजे एड्रियाटिक तटीय सहर रिजेकातर्फ जाँदै थियो। रेलका ११ वटा डिब्बा खोँचमा खसेका थिए भने इन्जिन र दुईवटा डिब्बा स्टेसनमै रोकिएका थिए।
पटरीबाट खस्नुअघि रेल चालकले ब्रेकले काम नगरेको र रेल रोक्न नसकेको जानकारी परिचालकलाई गराएका थिए। रिजेकाबाट करिब १५ किलोमिटर पूर्वमा रहेको मेजा स्टेसनमा उल्लेख्य क्षति पुगेको छ। प्रभावित रेलमार्गमा सबै यातायात बन्द गरिएको छ। दुर्घटनाको यकिन कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।





