विदेशमा व्यवसाय गर्ने चिनियाँका लागि कानुनी स्रोतको सार्वजनिक भण्डार शुरु

ड्रागन मिडिया समाचार कक्ष
चीनको न्याय मन्त्रालयले विदेशमा व्यवसाय गर्ने चिनियाँ कम्पनी र नागरिकलाई कानुनी जानकारी उपलब्ध गराउने सार्वजनिक भण्डार शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। ‘लेक्सकम’ नामक यस प्रणालीमा विदेशी कानुनका चिनियाँ अनुवाद, विदेशसम्बन्धी विषयका प्रतिनिधिमूलक मुद्दा र चीनका सम्बन्धित कानुन समेटिएका छन्।
जुलाईदेखि परीक्षणमा रहेको भण्डारमा हाल १८७ देशका एक हजार पाँच सयभन्दा बढी कानुनी सामग्री तथा विदेशसम्बन्धी एक हजार आठ सयभन्दा बढी चिनियाँ कानुन, नियम र विनियम समावेश छन्। न्याय मन्त्रालयका विदेशसम्बन्धी कानुनी मामिला अधिकारी चङ वेईका अनुसार विदेशमा विस्तार भइरहेका कम्पनी र नागरिकलाई विदेशी कानुन तथा मुद्दासम्बन्धी विश्वसनीय सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो प्रणाली तयार गरिएको हो।
प्रयोगकर्ताले प्रणालीको वेबसाइटमार्फत विदेशसम्बन्धी कानुनी प्रश्न पनि पठाउन सक्नेछन्। उपलब्ध सामग्री खोजेर कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको जवाफ वा कानुनी विज्ञको टोलीबाट उत्तर प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।
न्याय उपमन्त्री वू यानजुनले यो पहल चिनियाँ कम्पनी र नागरिकका लागि विदेशसम्बन्धी कानुनी सेवा विस्तार गर्ने तथा राष्ट्रिय हितको संरक्षण गर्ने प्रयासको हिस्सा भएको बताए। चीनले कानुन व्यवसायी संस्थालाई विदेशमा सेवा सञ्जाल विस्तार गर्न र अन्तर्राष्ट्रिय वाणिज्य मध्यस्थता केन्द्रको विकासमा सहयोग गर्न प्रोत्साहित गरिरहेको पनि उनले जानकारी दिए। बेइजिङ, सेन्जेन र साङ्घाई अहिले विश्वका प्राथमिकतामा पर्ने मध्यस्थता केन्द्रमध्ये रहेको उनको भनाइ छ।
जुलाई १ देखि लागू भएको चीनको राज्यपरिषद्को नयाँ नियमले परामर्श, मूल्याङ्कन, कानुनी सेवा, लेखा परीक्षण, कर्जा मूल्याङ्कन, मध्यस्थता र बौद्धिक सम्पत्तिसम्बन्धी सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय क्षमता अभिवृद्धि गर्न प्रोत्साहन गरेको छ। विदेशमा लगानी गर्दा उत्पन्न विवाद समाधान गर्न वार्ता, मेलमिलाप, मध्यस्थता वा अदालती प्रक्रियाको सहारा लिएर वैधानिक अधिकार र हितको संरक्षण गर्न पनि लगानीकर्तालाई नियमले प्रोत्साहित गरेको छ।





