बुढीगण्डकीको बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

ड्रागन मिडिया सम्वाददाता
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरोले थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले दुई झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीले घरमा क्षति पुर्याउनुका साथै केही बस्ती जोखिममा पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगेको र अर्को घरमा बाढी पसेको प्रहरीले जनाएको छ।
धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सात घर र त्यति नै सङ्ख्यामा टहरामा क्षति पुगेको छ।
धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ घर जोखिममा रहेको प्रहरीले जनाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।





