बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

ड्रागन मिडिया सम्वाददाता
गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँमा बूढीगण्डकी नदीको बाढीले ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरीमा पनि व्यापक क्षति भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन्।
आइतबार बिहान ४ बजे गाउँमा बाढी पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेका थिए। चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको उपाध्यक्ष गुरुङले बताइन्।
बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बताए।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ।





