२५ आश्विन २०८३, आईतवार

बडादशैं शुरु, आज घरघरमा घटस्थापना

ड्रागन मिडिया सम्वाददाता

नेपालीको महान् पर्व बडादशैं आइतबारदेखि शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको उत्तम साइत बिहान ११ः४७ बजे तोकेको छ। बडादशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ।

घटस्थापनाका दिन पूजा कोठा वा दशैं घरमा बालुवा अथवा माटो राखेर जौँ रोपिन्छ। जौँको अङ्कुरलाई जमरा भनिन्छ। विजयादशमीका दिन टीका र प्रसादसँगै जमरा ग्रहण गर्ने परम्परा छ। धर्मशास्त्रविद् रामचन्द्र गौतमका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन, यद्यपि कुल परम्पराअनुसार कतिपयले अरू अन्न पनि रोप्ने गरेका छन्।

नवरात्रभर दुर्गाका महाकाली, महालक्ष्मी र महासरस्वती रूपको पूजा गरिन्छ। नौ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइन्छ।

समितिका अनुसार यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। त्यस दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारस्थित दशैं घरमा पनि आजदेखि जमरा राखेर दुर्गा पूजा शुरु गरिँदैछ। दशैंका अवसरमा रोजगारी, अध्ययन र अन्य कामका लागि घरबाहिर रहेका मानिस घर फर्कने क्रम शुरु भएको छ। धेरैजसो शैक्षिक संस्थाले आजदेखि बिदा दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button