२५ आश्विन २०८३, आईतवार

चीन–युरोपेली सङ्घ व्यापार वार्तामा सहमति, विद्युतीय सवारीबारे छलफल जारी

ड्रागन मिडिया समाचार कक्ष

चीन र युरोपेली सङ्घले व्यापारिक मतभेद संवाद र परामर्शबाट समाधान गर्ने सहमति जनाएका छन्। बेइजिङमा बिहीबार र शुक्रबार भएको व्यापार तथा लगानी परामर्श संयन्त्रको दोस्रो बैठकमा दुवै पक्षले व्यापार सन्तुलन, निर्यात नियन्त्रण, बौद्धिक सम्पत्ति अधिकार र विश्व व्यापार सङ्गठनको सुधारबारे छलफल गरेका हुन्।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार बैठकमा १६ बुँदामा सहमति भएको छ। औषधि, सौन्दर्य सामग्री, चिकित्सा उपकरण, कृषि तथा खाद्यवस्तुलगायत क्षेत्रमा बजार पहुँचका विषयमा थप छलफल गर्ने र व्यापार अनुगमन संयन्त्रलाई उपयोग गर्ने सहमति भएको छ। विश्व व्यापार सङ्गठनका नियमभित्र रहेर केही वस्तुमा भन्सार शुल्क घटाउने सम्भावनाबारे पनि दुवै पक्षले छलफल गर्नेछन्।

विद्युतीय र हाइब्रिड सवारीसाधनसम्बन्धी विषयमा पनि वार्ता भएको छ। युरोपेली सङ्घका व्यापार आयुक्त मारोस सेफ्चोभिचले भएको समझदारीले युरोपमा चीनबाट जाने हाइब्रिड सवारीको निर्यात आधाभन्दा बढी घटाउन सक्ने बताएका छन्। तर सार्वजनिक गरिएको संयुक्त विवरणमा त्यसको परिमाण वा कार्यान्वयन प्रक्रिया खुलाइएको छैन। चिनियाँ विद्युतीय सवारीमाथि लगाइएको अनुदानविरोधी शुल्कसम्बन्धी मामिलामा मूल्यसम्बन्धी प्रतिबद्धता र त्यसको पुनरावलोकन अघि बढाउने विषयमा पनि छलफल भएको छ।

निर्यात नियन्त्रणबारे नीतिगत संवादलाई निरन्तरता दिने र विश्वव्यापी उत्पादन तथा आपूर्ति शृङ्खला स्थिर राख्ने सहमति भएको छ। नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग हुन सक्ने वस्तुको व्यापार सहज बनाउने सम्भावना, निर्यात अनुमतिसम्बन्धी केही मामिला र प्रतिबन्ध सूचीबाट नाम हटाउने प्रक्रियाबारे पनि दुवै पक्षले छलफल गर्नेछन्।

ऊर्जा, कृत्रिम बुद्धिमत्ता, सेवा व्यापार, डिजिटल अर्थतन्त्र तथा हरित विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावना रहेको दुवै पक्षले बताएका छन्। चीनले युरोपेली कम्पनीलाई आफ्नो बजारमा लगानीका लागि स्वागत गर्दै आएको जनाएको छ भने युरोपमा चिनियाँ कम्पनीका वैध हितको संरक्षण र निष्पक्ष, पारदर्शी तथा अनुमानयोग्य व्यावसायिक वातावरण सुनिश्चित गर्नुपर्ने अपेक्षा राखेको छ।

दुवै पक्षले वार्ताबाट प्राप्त सहमति कार्यान्वयन गर्न विभिन्न तहमा संवाद जारी राख्नेछन्। सन् २०२७ को जनवरीमा मन्त्रीस्तरीय भिडियो बैठक र मार्चमा परामर्श संयन्त्रको तेस्रो बैठक गर्ने सहमति भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button