नारायणीको बाढीले चौर बगर बनायो, ‘सी बिच’ तटबन्ध सुरक्षित

ड्रागन मिडिया सम्वाददाता
नारायणी नदीमा असोज ११ गते आएको बाढीले भरतपुर महानगरपालिका–१, नारायणगढस्थित नदी किनारको चौरमा बालुवा र ढुङ्गा थुपारेर बगर बनाएको छ। बाढी किनार हुँदै सडकसम्म पुगे पनि समुद्री किनारको स्वरूपमा बनाइएको ‘सी बिच’ तटबन्धमा भने ठूलो क्षति पुगेको छैन।
सिँचाइ तथा जलस्रोत आयोजना, भरतपुरका सूचना अधिकारी इञ्जिनियर सागर पौडेलका अनुसार नारायणी पुलको उत्तरतर्फ ६४० मिटर लामो तटबन्ध निर्माण गरिएको हो। विसं २०७९ पुस ५ गते शुरु भएको निर्माण विसं २०८० जेठ १९ गते सम्पन्न भएको थियो।
नदी कटान रोक्ने, चौर जोगाउने र किनारलाई आकर्षक बनाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको पौडेलले बताए। उनका अनुसार तटबन्धले नदीको बहावलाई अहिलेको धारमै राख्न र नारायणगढ बजारतर्फ मोडिन नदिन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसबाट बजार तथा आसपासका बस्ती, सडक, पूर्वाधार र जग्गालाई कटान तथा बाढीको जोखिमबाट जोगाउन सहयोग पुगेको छ।
तटबन्ध सुरक्षित रहे पनि माथिल्लो चौरमा बालुवा र ढुङ्गा थुप्रिएपछि त्यहाँ पुग्न कठिन भएको पौडेलले बताए। तटबन्धमाथिको करिडोरमा भने मानिसको आवतजावत र ठेलामा व्यापार जारी छ। उनका अनुसार तटबन्ध नबनेको भए नदीको धार परिवर्तन भई नारायणगढ बजार आसपासमा कटान र बाढीको जोखिम बढ्न सक्थ्यो।
‘नारायणी रिभर बिच प्रोटेक्सन वक्र्स’ आयोजनाअन्तर्गत १७ करोड ५९ लाख रुपैयाँ खर्चेर संरचना निर्माण गरिएको हो। तटबन्धमा आरसीसीका सिँढी बनाइएको छ भने अगाडिको भागमा ठूला ढुङ्गा राखेर किनार संरक्षण गरिएको छ। यस क्षेत्रमा महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनुका साथै बिहान र साँझ घुम्न आउने सर्वसाधारणको चहलपहल रहने गरेको छ।





