२५ आश्विन २०८३, आईतवार

हुम्लाका साझा समस्या रास्वपासमक्ष प्रस्तुत

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लामा आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले जिल्लाका साझा समस्या उठाएका छन्। पार्टीका केन्द्रीय सदस्य ध्रुव थापामगरले ती समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा जिल्लाका केही पालिका सुगम र केही दुर्गम हुनु, तुइनबाट आवतजावत गर्नुपर्ने बाध्यता, गाउँबस्ती जोड्ने सडकको अभाव र कर्णाली करिडोरको दयनीय अवस्थाबारे प्रश्न उठाइएको थियो। जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, हिल्सा नाकाको व्यवस्थापन, ताक्लाकोटमा अलपत्र नेपाली नागरिकको उद्धार र रानीखर्कको विवाद समाधानका माग पनि राखिएका थिए।

आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा पैसा र शक्तिभन्दा योग्यतालाई प्राथमिकता दिनुपर्ने विषयसमेत स्थानीयले उठाएका थिए। सुर्खेतदेखि सिमकोटसम्मको सडक यात्राले हुम्ला र त्यहाँका नागरिकले भोगिरहेको कठिनाइ बुझ्न आफूलाई मद्दत गरेको थापामगरले बताए।

झुटा आश्वासन दिएर चर्चा कमाउनेभन्दा काम गरेर परिणाम देखाउने उद्देश्यले आएको बताउँदै उनले स्थानीयका प्रश्न र समस्या टिपोट गरिएको जानकारी दिए। रानीखर्कको विवादबारे आफूलाई पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उनले बाजुराका केन्द्रीय सदस्य हेमराज थापासहित गृहमन्त्री, कानुनमन्त्री र पार्टी सभापतिसँग प्रत्यक्ष छलफल गर्ने बताए।

कार्यक्रममा नाम्खा गाउँपालिकाकी उपाध्यक्ष तक्दिर लामा, नेकपा एमालेका उपाध्यक्ष प्रकाशबहादुर शाही, रास्वपाका जिल्ला सभापति लक्ष्मण ऐडी तथा सञ्चारकर्मीहरूले पनि जिल्लाका समस्या राखेका थिए। रास्वपाको केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रम जिल्ला समितिले सञ्चालन गरेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोज बोहराले गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button