बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि कर्णाली याक्सले बंगलादेशका २१ वर्षीय क्रिकेटर अरिफुल इस्लामलाई टोलीमा अनुबन्ध गरेको छ। बंगलादेशको १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले राष्ट्रिय टोली, उच्च प्रदर्शन टोली र ‘ए’ टोलीबाट पनि खेलिसकेका छन्।
अस्ट्रेलियामा हालै सम्पन्न टप इन्ड ट्वान्टी–२० शृङ्खलामा उनले बंगलादेशको उच्च प्रदर्शन टोलीबाट सात खेल खेल्दै २१९ रन बनाएका थिए। ३६.५० को औसत र १३८.६० को स्ट्राइक दरमा रन बनाएका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमध्ये तेस्रो बने। उनले दुई अर्धशतक पनि प्रहार गरेका थिए।
अरिफुलले बंगलादेश प्रिमियर लिगमा सिलेट स्ट्राइकर्सबाट चार खेल खेल्दै ७६ रन बनाएका थिए। समग्रमा उनले १७ ट्वान्टी–२० खेलमा ४२७ रन बनाइसकेका छन्। कर्णाली याक्समा आबद्ध भएसँगै उनले पहिलोपटक बंगलादेशबाहिरको फ्रेन्चाइज प्रतियोगिता खेल्नेछन्।
कर्णाली याक्सले यसअघि बंगलादेशका विकेटकिपर ब्याटर अकबर अलीलाई पनि टोलीमा अनुबन्ध गरेको थियो। अरिफुलको आगमनसँगै टोलीमा बंगलादेशका खेलाडीको सङ्ख्या दुई पुगेको छ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अक्टोबर २७ देखि शुरु हुँदैछ। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।





