२५ आश्विन २०८३, आईतवार

दाङमा खाद्य व्यवसायको अनुगमन, चार लाखभन्दा बढीका सामग्री नष्ट

ड्रागन मिडिया सम्वाददाता

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा दाङका खाद्य व्यवसायमा १६१ पटक अनुगमन गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी सुदर्शन गोसाइँका अनुसार ८८ पटक एकल र ७३ पटक अन्य नियमनकारी निकायसँग संयुक्त अनुगमन गरिएको थियो।

कार्यालयले बजार तथा पसल, खाद्य उद्योग, होटल, रेस्टुरेन्ट, खाजाघर, दूध, तेल र प्रशोधित पानी उद्योगसहित विभिन्न क्षेत्रमा अनुगमन गरेको जनाएको छ। उजुरी तथा गुनासोपछि १२ पटक आकस्मिक अनुगमन गरिएको थियो। खाद्य स्वच्छताबारे तालिम तथा अभिमुखीकरण पनि सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा म्याद गुज्रिएका, फोहर वा अखाद्य अवस्थामा रहेका ४ लाख ५६ हजार ३६८ रुपैयाँ बराबरका खाद्य सामग्री जफत गरी नष्ट गरिएको थियो। नष्ट गरिएका सामग्रीमा खाद्यान्न तथा दलहन, दुग्धजन्य पदार्थ, फलफूल तथा सागपात, तेल र घ्युजन्य वस्तु, मसला, मिठाई तथा प्रशोधित पानीलगायत थिए।

कार्यालयले सङ्कलन गरेका १३९ खाद्य नमुनामध्ये प्रयोगशाला परीक्षणमा १० वटा तोकिएको मापदण्डविपरीत भेटिएका थिए। खाद्य स्वच्छताको अवस्था अध्ययन गर्न सङ्कलन गरिएका ८१ वटा निगरानी नमुना भने मापदण्डअनुसार रहेको कार्यालयले जनाएको छ। प्रतिकूल नमुना र थप अनुसन्धानबाट प्राप्त विवरणका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम १३ वटा मुद्दा अदालतमा दायर गरिएको छ।

होटल तथा रेस्टुरेन्टको स्वच्छता स्तरीकरण गरी ५१ वटालाई लोगो वितरण गरिएको थियो। साथै, लमही र घोराहीका ११६ होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई स्वच्छता तालिम दिइएको र हापुरे, गढवा, होलेरी तथा तुलसीपुरका २०० भन्दा बढी सडक तथा छिटो खाना व्यवसायीलाई खाद्य स्वच्छता, सरसफाइ र कानुनी प्रावधानबारे प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button