चितवनमा ३ हजार ३६२ जनाको नाम मतदाता नामावलीबाट हटाइयो

ड्रागन मिडिया सम्वाददाता
मतदाता नामावली अद्यावधिक गर्ने क्रममा चितवनमा ३ हजार ३६२ जनाको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दोहोरो दर्ता, मृत्यु र नागरिकता त्यागसम्बन्धी विवरणका आधारमा नाम हटाइएको हो।
हटाइएकामध्ये दोहोरो दर्ता भएका १ हजार ९४३, मृत्यु भएका १ हजार ३८० र नागरिकता त्याग गरेका ३९ जना छन्। निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभर नामावली छानबिन गरिएको कार्कीले बताए।
कार्यालयले असोज १ गते नामावली प्रकाशन गरी भोलिपल्टदेखि अद्यावधिक प्रक्रिया अघि बढाएको थियो। मृत्यु भएका व्यक्तिको विवरण स्थानीय तहबाट र नागरिकता त्यागसम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालयबाट माग गरी नाम हटाइएको कार्कीले जानकारी दिए।
हटाइएका मतदाताको नाम, ठेगाना र मतदाता परिचयपत्र नम्बरसमेतको विवरण कार्यालयले सार्वजनिक गरेको छ। हटाइएको नामबारे दाबी वा जिज्ञासा भए आवश्यक प्रमाणसहित कार्यालय समयमा जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।





