कीर्तिपुरमा नेपथ्यको सांगीतिक प्रस्तुति, गीतसँगै झुमे दर्शक

ड्रागन मिडिया सम्वाददाता
नेपाली लोक–रक समूह नेपथ्यले शनिबार साँझ कीर्तिपुरमा सांगीतिक प्रस्तुति दिएको छ। रमाइलो इभेन्ट म्यानेजमेन्टको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ आयोजना गरिएको हो।
लामो समयपछि काठमाडौँ उपत्यकामा भएको नेपथ्यको प्रत्यक्ष कन्सर्ट हेर्न दर्शकको बाक्लो उपस्थिति थियो। साँझ ६ बजेपछि शुरु भएको कार्यक्रममा मुख्य गायक अमृत गुरुङले समूहका चर्चित गीत प्रस्तुत गरेका थिए।
‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊनजस्तो’, ‘तालको पानी’, ‘रेशम’, ‘जोमसोमे बजार’ र ‘गाउँ गाउँबाट उठ’ प्रस्तुत हुँदा दर्शकले गीतसँगै स्वर मिलाएका थिए।
गीतबीच गुरुङले नेपाली कला, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिएका थिए। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको कीर्तिपुरमा आयोजित कन्सर्टले विभिन्न पुस्ताका दर्शकलाई एउटै सांगीतिक कार्यक्रममा जोडेको थियो।





