एकदिवसीय मान्यता जोगाउन नेपाललाई तीन जित आवश्यक

ड्रागन मिडिया सम्वाददाता
एकदिवसीय विश्वकप लिग–२ को अन्तिम शृंखलामा नेपालले आइतबार क्यानडासँग खेल्दैछ। ओमानको विजयसँगै विश्वकप छनोटमा शीर्ष चारभित्र रहेर सिधै प्रवेश गर्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालको लक्ष्य शीर्ष छभित्र पर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु हो।
नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ। तीन खेल जिते एकदिवसीय मान्यता जोगाउने सम्भावना रहनेछ। त्यसो हुन नसके नेपालले विश्वकप छनोटको प्लेअफ खेल्नुपर्नेछ। त्यहाँबाट मान्यता जोगाउन अर्को अवसर प्राप्त हुनेछ।
शुक्रबार ओमानले क्यानडालाई ४१ रनले हराएपछि नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको हो। शीर्ष चार टोलीले आगामी फेब्रुअरीमा हुने विश्वकप छनोटमा सिधै प्रवेश पाउनेछन्।
आठ टोली सहभागी लिग–२ मा अमेरिका च्याम्पियन बनिसकेको छ। क्यानडा ३३ खेलबाट २५ अङ्कसहित छैटौँ र नेपाल ३२ खेलबाट २४ अङ्कसहित सातौँ स्थानमा छन्। यूएई ३० खेलबाट १९ अङ्कसहित पुछारमा छ। शीर्ष छभित्र रहन नेपाल र क्यानडाबीच प्रतिस्पर्धा छ।
ओमान २९ खेलबाट ३३ अङ्कसहित चौथो र नामिबिया ३४ खेलबाट २९ अङ्कसहित पाँचौँ स्थानमा छन्। लिग–२ का तल्लो चार टोलीले विश्वकप छनोटको प्लेअफ खेल्नुपर्नेछ।
नेपालले लिग–२ मा लगातार आठ खेल हारेको छ। जुलाईमा नेदरल्यान्ड्समा नेदरल्यान्ड्स र नामिबियासँगका चारै खेल गुमाएपछि रोहित पौडेलले कप्तानी छाडेका थिए। त्यसयता कुशल भुर्तेल, आरिफ शेख र सोमपाल कामीसहित छ खेलाडी टोलीबाट बाहिरिएका छन्।
नेपाल र क्यानडा लिग–२ मा दोस्रोपटक आमनेसामने हुन लागेका हुन्। सन् २०२४ मा क्यानडामा भएका दुवै खेलमा नेपाल पराजित भएको थियो—पहिलो खेलमा १०३ रनले र दोस्रोमा पाँच विकेटले।
नेपालले यस शृंखलाको पहिलो खेलबाटै जितको सुरुआत गर्ने लक्ष्य राखेको छ। नेपाल र क्यानडाबीचको खेल आइतबार बिहान ११:४५ बजे शुरु हुनेछ।





