दसैँका लागि मध्यम तथा लामो दूरीका सवारीलाई मार्ग इजाजत खुला

ड्रागन मिडिया सम्वाददाता
दसैँमा यात्रु आवागमन सहज बनाउन यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीका सवारीसाधनलाई देशभर सञ्चालन गर्न आजदेखि मार्ग इजाजत खुला गरेको छ। घटस्थापनादेखि कात्तिक १० गतेसम्म उपत्यकामा चल्ने सवारीसाधनले जुनसुकै जिल्लामा यात्रु लिएर जान पाउनेछन्।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ खण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालन गर्न रोक लगाइनेछ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। नयाँ बसपार्कको प्रवेशद्वार, बल्खु चोक, फर्पिङ चोक, कलंकी, नागढुंगा चोक, हलचोक, चाबहिल, कोटेश्वर चोक, भीमढुंगा जाँचचौकी, तीनपिप्ले चोक, टोखा जाँचचौकी, साँखु बसपार्क, नाङ्लेभारे जाँचचौकी, जगाती चोक र चापागाउँ जाँचचौकीमा सहायता कक्ष राखिएका छन्।
दसैँका लागि सवारीसाधनको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुला गरिएको छ।





