बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उद्धार, राहत तथा स्थानीयलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन गरिएको उनले बताएका छन्।
गुरुङका अनुसार चुमनुब्री–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको बाढी पसेको र नदीको बहाव बढिरहेको सूचना प्राप्त भएको उनले जनाएका छन्।
सिर्दिबास, जगत्, सल्लेरी, खोलबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार तथा राहतमा खटाइएको गृहमन्त्रीले बताएका छन्।
आइतबार बिहान करिब ४ः३० बजे पहिरोले थुनिएको बुढीगण्डकी नदी खुलेपछि लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको थियो। बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्याएको छ।





