इञ्जिन बिग्रिएपछि सोलोमन टापुमा ७३ यात्रु समुन्द्रमा अलपत्र

ड्रागन मिडिया समाचार कक्ष
सोलोमन टापुमा इञ्जिन बिग्रिएपछि यात्रुसहित समुन्द्रमा अलपत्र परेको डुङ्गाको उद्धार प्रयास भइरहेको छ। ‘एमभी आव्का’ नामको डुङ्गामा चालकदलका सदस्यबाहेक ७३ जना यात्रु रहेको सोलोमन टापु प्रसारण संस्थाले जनाएको छ।
टेमोटु प्रान्तको अनुटाबाट भानिकोरुतर्फ जाँदै गर्दा शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ७ बजे डुङ्गाले सङ्कटकालीन सङ्केत पठाएको थियो। त्यसयता डुङ्गा समुन्द्रमा बहिरहेको छ। खराब मौसम र ठूलो छालका कारण डुङ्गामा रहेका यात्रुको अवस्थाबारे चिन्ता बढेको छ।
डुङ्गासम्म अत्यावश्यक सामग्री पुर्याउन विमान र जलयान परिचालन गरिएको छ। टेमोटु प्रान्तका प्रमुख स्टान्ली तेहियाहुआका अनुसार फ्रान्स, अस्ट्रेलिया र न्युजिल्यान्डले सङ्कटको सूचना पाएर सहायता प्रस्ताव गरेका छन्। प्रस्तावित सहायतामा खाना, पिउने पानी र औषधि समावेश छन्।





