चीनले मलेसियालाई हराउँदै जुनियर टोली ब्याडमिन्टन उपाधि रक्षा

ड्रागन मिडिया समाचार कक्ष
चीनले मलेसियालाई २–१ ले पराजित गर्दै ब्याडमिन्टन विश्व जुनियर टोली च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ। शनिबार काइरोमा भएको फाइनलमा चीनले सुधान्दिनाता कप जितेको हो।
चीनले पहिलो खेल ५५–४६ ले जितेपछि मलेसियाले दोस्रो खेल ५५–५३ ले आफ्नो पक्षमा पार्दै बराबरी गरेको थियो। निर्णायक तेस्रो खेलमा चीनले ५५–४५ को जित निकाल्यो।
दोस्रो खेलमा ४३–५० ले पछि परेको चीनले लगातार अङ्क जोड्दै खेल ५२–५२ को बराबरीमा पुर्याएको थियो। तर मलेसियाले अन्तिम अङ्क हासिल गर्दै निर्णायक खेलमा पुर्यायो। तेस्रो खेलमा महिला र पुरुष एकलबाट अग्रता बनाएको चीनले महिला युगलमा मलेसियाले चुनौती दिए पनि जित सुरक्षित गर्यो।
चीनका प्रशिक्षक गुओ झेन्दोङले पाँचै विधामा टोलीको सन्तुलित शक्ति र दबाबबीच खेलाडीले देखाएको संयमलाई जितको आधार बताए। उनले रोमाञ्चक खेलमा दबाब सम्हाल्ने अनुभवले खेलाडीको भविष्यमा लाभ पुग्ने बताए।
उपाधि जितेपछि चीनका १८ वर्षीय खेलाडी फेङ यिलाङले शुरुका खेलमा आफू नर्भस भए पनि निर्णायक खेलमा आत्मविश्वास बढेको बताए। महिला युगल खेलेकी वेइ युएयुले टोलीको एकतालाई जितको मुख्य कारण बताइन्। मलेसियाका टोली व्यवस्थापक भिन्सेन्ट चिनले रजत पदकप्रति सन्तुष्टि जनाउँदै अब व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने लक्ष्य रहेको बताए।
सेमिफाइनलमा चीनसँग पराजित थाइल्यान्ड र मलेसियासँग पराजित इन्डोनेसियाले संयुक्त रूपमा कांस्य पदक पाए। काइरोमै सोमबारदेखि व्यक्तिगत च्याम्पियनसिप शुरु हुँदैछ।





