सुदूरपश्चिममा आज ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत हुँदै

ड्रागन मिडिया सम्वाददाता
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ। बजेट प्रस्तुतिका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्न लागेको एक मन्त्रीले बताएका छन्। तर प्रदेश सरकारसँग उपलब्ध यथार्थ स्रोत ३३ अर्ब १३ करोड रुपैयाँ मात्र रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। प्रस्तावित बजेट स्रोतभन्दा ४ अर्ब ५७ करोड रुपैयाँ बढी देखिन्छ।
यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रस्तुत गरेको बजेट पारित हुन सकेको थिएन। कांग्रेस नेतृत्वको एमालेसहितको सत्ता गठबन्धन फेरिएपछि बजेट अलपत्र परेको थियो। अहिले नेकपा नेतृत्वमा एमालेसहितको संयुक्त सरकार छ। खगराज भट्ट नेतृत्वको सरकारले नयाँ बजेट ल्याउन लागेको हो।
सांसदहरूका अनुसार बजेटमा भागबन्डाका लागि ठूलो रकम छुट्याउनुपर्ने दबाबले स्रोतभन्दा बढीको बजेट ल्याउनुपर्ने अवस्था बनेको हो। प्रत्यक्ष निर्वाचित सांसदका लागि सात करोड र समानुपातिक सांसदका लागि पाँच करोड रुपैयाँका दरले आयोजना तथा बजेट सिफारिस मागिएको उनीहरूले बताएका छन्। सत्ता गठबन्धनका केन्द्र र प्रदेशका प्रभावशाली नेताका लागि छुट्टै रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको एक मन्त्रीले बताए।





