२५ आश्विन २०८३, आईतवार

बुढीगण्डकी बाढीको समयरेखा: बिहान ५:५५ मा सूचना, ९:५१ मा बेनीघाट पुग्यो

ड्रागन मिडिया सम्वाददाता

गोरखाको चुमनुब्री गाउँपालिका–३ मा बुढीगण्डकी नदी थुनिएर आइतबार बिहान लेदोसहितको बाढी आएको थियो। बाढीले गोरखाको उत्तरी क्षेत्र हुँदै धादिङसम्म असर पुर्‍यायो। प्रारम्भिक विवरणअनुसार करिब ४० घर र पुललगायतका संरचनामा क्षति पुगेको छ।

बिहान ५:५५ बजे नेपाली सेनाको श्री नं. ३ बाहिनी अड्डामा नदी थुनिएर बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो। ६:१५ बजे श्री रुद्रध्वज गण र बारागाउँसिङ सुरक्षा पोस्टबाट खटिएको टोलीले प्रारम्भिक रेकी गरी नदी थुनिएको र थुनिएको भाग खुल्न थालेको जानकारी दिएको थियो।

बाढी प्रभावित क्षेत्रको खोजी तथा उद्धारका लागि बिहान ६:३६ बजे सेनाको एनए–०६५ बेल हेलिकोप्टर गोरखातर्फ उडेको थियो। ७:५२ बजे हेलिकोप्टरले चुमनुब्री–३ को फिलिम र जगत क्षेत्रमा हवाई रेकी गर्दा फिलिममा सुक्खा पहिरो गएको देखिएको थियो।

बाढी बिहान ८ बजे आरुघाट पुगेको थियो। ८:३५ बजे सेनाको हेलिकोप्टरले जगतबाट जोखिममा रहेका छ जनाको उद्धार गरेको थियो। उद्धार तथा राहतका लागि इन्धन बोकेको हेलिकोप्टर ८:४८ बजे गोरखातर्फ उडेको थियो। त्यसको दुई मिनेटपछि सेनाको एनए–०६१ बेल हेलिकोप्टर आवश्यक सामग्री र द्रुत उद्धार टोलीसहित आरुघाटतर्फ गएको थियो।

बाढी बिहान ९:३० बजे धादिङको सल्यानटार र ९:५१ बजे बेनीघाट पुगेको थियो। सेना र प्रहरी उद्धारमा खटिएका थिए भने हेलिकोप्टरबाट प्रभावित क्षेत्रको निगरानी गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button