मालढुंगा पुल नबन्दा बागलुङको पर्यटन र व्यापार प्रभावित

ड्रागन मिडिया सम्वाददाता
कालीगण्डकी नदीको बाढीले असोज ११ गते बगाएको मालढुंगा पुलको पूर्वी खण्ड अझै पुनर्निर्माण नहुँदा बागलुङको पर्यटन, व्यापार र दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ। दशैं–तिहारमा पर्यटक, तीर्थालु र घर फर्कने यात्रुको चाप बढ्ने बेला होटल तथा बजार सुनसान बनेका छन्।
मुक्तिनाथ जाने पर्यटक र तीर्थालु बागलुङ हुँदै आवतजावत गर्ने समयमा पोखरा–बागलुङ राजमार्ग खुले पनि पुल नबन्दा यात्रा सहज हुन सकेको छैन। पैदल यात्रुले समेत कालीगण्डकीमाथि बाँकी रहेको खनियाघाट पुल प्रयोग गर्नुपर्ने बाध्यता छ। होटल व्यवसायीका अनुसार सामान्यतया असोज–कात्तिकमा पाहुनाको चाप रहने भए पनि यसपटक पर्यटक घटेका छन्।
पुल नबन्दा खाद्यान्न, दैनिक उपभोग्य वस्तु र इन्धन ढुवानीमा समेत असर परेको छ। पर्वतको फलेवास हुँदै कालीगण्डकी करिडोरबाट सामान ल्याउँदा २१ किलोमिटर लामो घुमाउरो यात्रा गर्नुपर्ने भएकाले बागलुङमा ग्यास प्रतिसिलिन्डर पर्वतको तुलनामा १५० रुपैयाँ महँगो परेको व्यवसायीले बताएका छन्। पेट्रोलियम पदार्थको आपूर्ति पनि नियमित हुन सकेको छैन।
सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर ध्रुव पोखरेलले पुल निर्माणमा दिनरात काम भइरहेको र सडक सञ्चालन गर्न अझै चारदेखि पाँच दिन लाग्न सक्ने बताएका छन्। नेपाली सेनाले पनि दैनिक २० देखि २५ जना जवान खटाएर निर्माणमा सहयोग गरिरहेको छ। पुलको सतहसम्म पुग्न अझै आठ मिटर जमिन भर्नुपर्ने प्राविधिकको भनाइ छ।
बाढीले पुलको पूर्वी खण्डको पर्खाल बगाउनुका साथै पिलरमा क्षति पुर्याएकाले पुलको सुरक्षाका लागि थप काम आवश्यक रहेको इञ्जिनियर पोखरेलले बताए। पुल र राजमार्गको कामलाई दशैं–तिहारअघि प्राथमिकतासाथ अघि बढाइएको छ। मालढुंगा क्षेत्रका प्रहरी चौकी, इस्कोन, निरयघाटस्थित मानवसेवा आश्रम र वृद्धाश्रम जाने सडक पनि पहिरोले क्षतिग्रस्त बनाएको छ।





