२५ आश्विन २०८३, आईतवार

बर्दियामा नयाँ चिनी उद्योग, ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

ड्रागन मिडिया सम्वाददाता

बर्दियाको गुलरिया नगरपालिका–१२ दुद्यामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको चिनी उद्योगले आगामी फागुनको अन्तिम सातादेखि उत्पादन शुरु गर्ने तयारी गरेको छ। करिब १८ बिघा क्षेत्रफलमा निर्माणाधीन उद्योगको काम अन्तिम चरणमा पुगेको छ।

उद्योगले पहिलो चरणमा दैनिक २५ हजारदेखि ३५ हजार क्विन्टलसम्म उखु प्रशोधन गर्ने जनाएको छ। उद्योगका अनुसार किसानले हाल ८०० बिघामा उखु खेती गरेका छन् भने थप ३ हजार बिघामा खेती गर्न आवेदन दिएका छन्।

उद्योगमा नेपाली र भारतीय प्राविधिकसहित २५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। डेपुटी म्यानेजर केदारसिंह भण्डारीका अनुसार कामदारमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत भारतीय छन्।

उद्योगले वार्षिक ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये ३ मेगावाट उद्योगमै खपत हुने र बाँकी ५ मेगावाट सरकारलाई बिक्री गर्ने भण्डारीले बताए। उद्योगमा उत्पादित चिनी देशभर बिक्री गरिनेछ।

बर्दियामा पछिल्लो दुई वर्षमा दुईवटा चिनी उद्योग स्थापना भएका छन्। यसअघि राजापुर नगरपालिका–५ बदालपुरमा करिब दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको चिनी उद्योगमा ५५० जनाले रोजगारी पाएको सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजका महाप्रबन्धक श्रीकृष्ण महतोले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button