नलगाड जलविद्युत् आयोजना: विस्तृत प्रतिवेदन बनेको दुई वर्ष, निर्माण अनिश्चित

ड्रागन मिडिया सम्वाददाता
जाजरकोटमा प्रस्तावित ४१७ मेगावाट क्षमताको नलगाड जलाशययुक्त जलविद्युत् आयोजना विस्तृत परियोजना प्रतिवेदन तयार भएको दुई वर्ष बित्दा पनि निर्माण चरणमा प्रवेश गरेको छैन। आवश्यक लगानीको स्रोत सुनिश्चित नहुँदा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।
आयोजनामा नलगाड नदीमा २४८ मिटर अग्लो प्रबलित सिमेन्ट कङ्क्रिटको बाँध, भूमिगत विद्युत् गृह र करिब ८.५ किलोमिटर सुरुङ निर्माण गर्ने योजना छ। उत्पादित विद्युत् ४०० केभी प्रसारण लाइनमार्फत सुर्खेतको मैनतडा सबस्टेसनसम्म पुर्याउने प्रस्ताव गरिएको छ।
प्रतिवेदन तयार गर्न २०७३ वैशाख २३ गते अस्ट्रेलियाको स्मेक, एमडब्लूएच र नेपालको उदय जेभीसँग सम्झौता भएको थियो। ३१ महिनामा काम सक्ने सम्झौता भए पनि पटक–पटक म्याद थपिएको थियो। अन्तिम प्रतिवेदन २०८० असार १५ गते नलगाड हाइड्रोपावर कम्पनीलाई बुझाइएको थियो। त्यसका लागि एक अर्ब ११ करोड रुपैयाँ खर्च भएको कम्पनीका इञ्जिनियर पदम थापाले बताए।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले आयोजनामा लगानी गर्ने चासो देखाए पनि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छैन। ठूलो पुँजी आवश्यक पर्ने भएकाले लगानी जुटाउनु आयोजनाको मुख्य चुनौती बनेको छ।
निर्माणपूर्वका केही काम भने भएका छन्। कालिमाटी–लैखम–अँधेरी खोला सडक र वैकल्पिक पहुँच मार्गका रूपमा कालिमाटी–खानटाकुरा–सिर्के सडक निर्माण गरिएको छ। नेपाली सेनाको शिविर, कार्यालय र आयोजना स्थलको शिविर व्यवस्थापनलगायतमा करिब ९० करोड रुपैयाँ खर्च भएको इञ्जिनियर थापाले बताए।
आयोजनाका लागि आवश्यक जग्गामध्ये करिब ९० प्रतिशतको मुआब्जा वितरण भइसकेको छ। बाँकी जग्गा र प्रभावित घरटहराको क्षतिपूर्ति टुङ्ग्याउन बाँकी छ। आयोजना निर्माण भएमा राष्ट्रिय विद्युत् उत्पादन बढ्नुका साथै जाजरकोटमा रोजगारी र स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।





