कांग्रेस महाधिवेशनको मतगणना रोकियो, विवरण प्रविष्ट गरेपछि मात्र अघि बढ्ने

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना रोकिएको छ। गणना भइसकेका मतको विवरण कम्प्युटरमा प्रविष्ट गरेपछि मात्र थप मतगणना गर्ने सहमति भएको उपसभापतिका उम्मेदवार जीवन परियारले बताएका छन्।
शनिबार राति करिब १० बजे सुरु भएको मतगणना आइतबार बिहानसम्म सुस्त गतिमा अघि बढेको थियो। बिहानसम्म १ हजार ३३० मतको परिणाम सार्वजनिक भएको थियो। त्यसपछि गणना गरिएका करिब ७ सय मतको विवरण सार्वजनिक नभएपछि उम्मेदवारहरूले पहिले गणना भइसकेका सबै मतको विवरण प्रविष्ट गर्न माग गरेका थिए।
सार्वजनिक परिणामअनुसार खुला उपसभापतिमा चन्द्रकान्त भण्डारीले ६७९ र मधु आचार्यले ३९३ मत पाएका छन्। उनीहरूलाई गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र चन्द्रमोहन यादवले १३८ मतसहित पछ्याएका छन्। खुला उपसभापतिका दुई पदका लागि सात जना प्रतिस्पर्धामा छन्।
समावेशी उपसभापतिमा विनोदकुमार चौधरीले ३८२ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ३३०, फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत पाएका छन्।
खुला महामन्त्रीका उम्मेदवारमध्ये प्रदीप पौडेल ७८८ मतसहित अगाडि छन्। अमरसिंह पुन मगरले ४७८, उदयशमशेर राणाले ४५६, सुनिलकुमार शर्माले ३२५, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र सन्तोष उपाध्यायले १८ मत पाएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ले ५८३, महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ र रीता खनालले १५३ मत प्राप्त गरेकी छन्।





