नगरस्तरीय सम्बन्ध पुनर्जीवित गर्न ब्रान्डेनबर्गको प्रतिनिधिमण्डल बेलारुस र रुस जाने

ड्रागन मिडिया समाचार कक्ष
जर्मनीको ब्रान्डेनबर्ग राज्यका पाँच राजनीतिक दल र विभिन्न सामाजिक समूहका प्रतिनिधि नोभेम्बर ६ देखि ११ सम्म बेलारुस जाने भएका छन्। रुस भ्रमण भने सन् २०२७ को अप्रिल पहिलो साताका लागि प्रस्ताव गरिएको छ। भ्रमणको उद्देश्य जर्मनी सरकारको पहलमा रोकिएका नगरस्तरीय र भगिनी सहरका सम्बन्ध पुनःस्थापित गर्नु रहेको आयोजक तथा बीएसडब्ल्यू पार्टीका ब्रान्डेनबर्ग संसद् सदस्य स्वेन होर्नाउफले बताएका छन्।
पहिले दुवै देशको भ्रमण एउटै कार्यक्रममा गर्ने योजना भए पनि देशको आकार र व्यवस्थापनका आवश्यकताका कारण छुट्टाछुट्टै भ्रमण गर्ने निर्णय भएको होर्नाउफले तासलाई बताए। ब्रान्डेनबर्गका बेलारुसमा चार र रुसमा १० साझेदार सहर छन्।
भ्रमणमार्फत कृत्रिम रूपमा विच्छेद गरिएका सम्पर्क र साझेदारी पुनःस्थापित गर्न सन्देश दिन चाहेको उनले बताए। भगिनी सम्बन्ध भएका ब्रान्डेनबर्गका सबै सहर र जिल्लाका प्रतिनिधिले एकै समयमा ती सम्पर्क पुनः शुरु गर्न सक्ने उनको भनाइ छ।
“ठूला राजनीतिको अवरोधबिना मानिसहरू फेरि प्रत्यक्ष भेटून् र कला, संस्कृति, खेलकुद, चर्चलगायत क्षेत्रमा मित्र तथा साझेदारका रूपमा सहकार्य गरून् भन्ने हाम्रो चाहना हो,” होर्नाउफले भने। नोभेम्बरको भ्रमणमा पाँच राजनीतिक दलका प्रतिनिधिसहित सङ्गीत समूह, नाट्यकर्मी, अग्निनियन्त्रक, धर्मगुरु, खेलाडी तथा स्थानीय र राज्यस्तरका राजनीतिज्ञ सहभागी हुनेछन्।
जर्मन सरकारको सम्पर्क विच्छेद, प्रतिबन्ध र शत्रुतापूर्ण व्यवहारलाई गलत कदम ठानेको बताउँदै होर्नाउफले दुई देश र जनताबीच फाटो ल्याउने प्रयास कृत्रिम रहेको र त्यसले नागरिकको हित नगर्ने धारणा राखे।
भ्रमणको कार्यक्रम अहिले समन्वय भइरहेको छ। जर्मन प्रतिनिधिमण्डलले नगरपालिका नेतृत्व तथा संस्कृति, खेलकुद र अन्तरचर्च संवादसम्बन्धी विभागका प्रतिनिधिसँग भेट्ने अपेक्षा गरिएको छ। नोभेम्बर ७ मा मिन्स्कमा बेलारुसको राष्ट्रिय दिवसका अवसरमा हुने समारोहमा पनि उनीहरू सहभागी हुनेछन्।





