लाइको भाषणमा पृथकतावादी एजेन्डा यथावत् रहेको चिनियाँ विज्ञहरूको टिप्पणी

ड्रागन मिडिया समाचार कक्ष
ताइवानका नेता लाई छिङतेले शनिबार ताइपेईमा दिएको भाषणमा शान्ति र दुई किनारबीचको आदानप्रदानको कुरा गरे पनि मूलतः पृथकतावादी सोच नत्यागेको मुख्यभूमि चीनका ताइवान मामिलाका विज्ञहरूले बताएका छन्। परिष्कृत शब्दावलीले उनको पृथकतावादी एजेन्डा लुकाउन नसक्ने उनीहरूको भनाइ छ।
चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत बेइजिङस्थित ताइवान अध्ययन संस्थानका अनुसन्धानकर्ता छन गुइछिङले लाईले शान्ति र दुई किनारबीचको सम्पर्कबारे औपचारिक कुरा गरे पनि मुख्यभूमिमाथि बारम्बार आरोप लगाएको बताए। उनले मुख्यभूमिले सैन्य र ‘ग्रे जोन’ गतिविधिमार्फत दबाब दिएको तथा ताइवान जलडमरूमध्यको यथास्थिति बदल्न खोजेको भन्ने लाईका आरोपलाई आधारहीन भने।
लाईको भाषणले उनको अडिग पृथकतावादी सोच र दुई किनारबीच तनाव चर्काउने मनसाय उजागर गरेको छनले टिप्पणी गरे। उनले ताइवानमा स्थिरता र सामाजिक सद्भाव कमजोर पार्ने काममा लाई र डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीको प्रशासन जिम्मेवार रहेको बताए। लाईको भाषणले ताइवानका आर्थिक तथा सामाजिक चुनौतीलाई बेवास्ता गरेको र आगामी स्थानीय निर्वाचनमा पार्टीको हित साध्न खोजेको पनि उनको भनाइ छ।
नान्जिङ विश्वविद्यालयका ताइवान अध्ययन विज्ञ लिउ सियाङपिङले ‘सम्पूर्ण समाजको प्रतिरक्षा क्षमता’ बढाउने लाईको अवधारणा टापुको रक्षा बजेट बढाउने बहाना भएको बताए। जनताको कमाइ सैन्य विस्तारमा खर्च गरेर उनीहरूको जीविकालाई प्राथमिकता नदिँदा त्यसको उल्टो परिणाम आउने लिउले चेतावनी दिए। अमेरिका र पश्चिमी देशलाई खुसी पार्न खोज्दै बाह्य शक्तिको गोटी बन्ने चाहना पनि लाईको भाषणबाट देखिएको उनको टिप्पणी छ।
रेनमिन विश्वविद्यालयको दुई किनारबीचको सम्बन्ध अध्ययन केन्द्रका निर्देशक वाङ यिङजिनले दोस्रो विश्वयुद्धको इतिहास विकृत गर्न नदिने लाईको भनाइप्रति प्रश्न उठाए। चीनको ताइवान पुनःस्थापनाको ८०औँ वार्षिकोत्सवमा लाईले जापानी आक्रमणकारीको पक्ष लिँदै जापानविरुद्धको प्रतिरोध युद्धको विजयलाई केवल ‘युद्धको अन्त्य’ का रूपमा चित्रित गरेको वाङको आरोप छ।
ताइवानसम्बन्धी प्रश्न करिब आठ दशकअघि चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङबीच भएको गृहयुद्धबाट उत्पन्न भएको थियो। सन् १९४९ मा पराजित कोमिन्ताङ ताइवान फर्किएको थियो भने चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो। मुख्यभूमि चीनको पक्षले ताइवानलाई चीनको अविभाज्य भूभाग मान्दै आएको छ।





